औषधि पसल अनिश्चितकालका लागि बन्द

काठमाण्डु टुडे २०७० माघ १६ गते ९:०३ मा प्रकाशित

वीरगन्ज, १६ माघ– वीरगन्जका सम्पूर्ण औषधि पसल विहीबारदेखि अनिश्चितकालका लागि बन्द भएका छन् ।

औषधि पसल बन्द भएबाट सबैभन्दा बढी उपचारका लागि आउने बिरामी प्रभावित भएका छन् । नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज परिसरभित्र रहेका औषधि पसलहरुको बोलपत्रको विषयलाई लिएर औषधि व्यवसायी संघ नारायणीको अह्वानमा वीरगन्जका औषधि पसलहरु अनिश्चितकालका लागि बन्द गरिएको हो । औषधिको आयात, थोक तथा खुद्रा बिक्री सबै बन्द गरिएको छ ।

नारायणी उपक्षेत्रीय अस्पताल विकास समितिअन्तर्गतको १६ वटा पसलको नयाँ बोलपत्र आह्वान गरिएपछि ती पसल प्रभावित हुन पुगेको भन्दै सङ्घले बोलपत्र नगरी प्रत्येक दुई वर्षमा १० प्रतिशत भाडा वृद्धि गरेर पुनः त्यसैलाई पसल सञ्चालन गर्न दिइने ती औषधि पसलसँग गरेको सम्झौता विपरीत अस्पताल प्रशासनले बोलपत्र आह्वान गरेको विरोधमा विगत १० दिनदेखि चरणबद्ध आन्दोलन गर्दै आएको छ ।

मानवीय स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने औषधि बिक्री वितरणको विषयलाई गम्भीरताका साथ लिन अस्पताल प्रशासनसँग पटकपटक गरेको आग्रहलाई बेवास्ता गरिएकाले बाध्य भएर औषधिको कारोबार अनिश्चितकालका लागि ठप्प पारिएको र माग पूरा हुनेबित्तिकै पहिलाजस्तै निर्वाध रुपमा औषधि कारोबार सञ्चालन गर्ने संघले  जनाएको छ ।

आकस्मिक सेवाका लागि अस्पताल परिसरमा रहेको साझा संस्थाको औषधि पसल, अन्य अस्पतालको हकमा आकस्मिक तथा अस्पताल भर्ना भएका बिरामीका लागि एक–एकवटा पसल सञ्चालन गर्ने व्यवस्था मिलाइएको बताइएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us