कैलाली हात्तीपाइले रोगको उच्च जोखिममा

काठमाण्डु टुडे २०७० माघ १५ गते ३:०१ मा प्रकाशित

filaria1धनगढी, १५ माघ – नेपालमा हात्तीपाइले रोगबाट सबैभन्दा बढी जोखिम रहेको जिल्लाका रुपमा कैलाली जिल्ला देखिएको छ ।

गत वर्षको तथ्याङ्कअनुसार हत्तीपाइलेबाट प्रभावित देशका ६१ जिल्लामध्ये कैलालीमा सबैभन्दा बढी तीन हजार ७१३ जनामा यो रोगको संक्रमण भएको पाइएको छ ।

सन् २०२० सम्ममा विश्वबाटै हात्तीपाइले रोगको निवारण गर्ने कार्यक्रम रहेको भएता पनि कैलालीमा भने यो रोगका संक्रमितहरुको सङ्ख्यामा वृद्धि भइरहेकाले निवारणमा चुनौती देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख जयबहादुर कार्कीले बताए ।

सन् २००३ बाट हात्तीपाइले रोग निवारणका लागि नेपालमा विभिन्न गतिविधिहरु सञ्चालन हुँदै आएका छन् । यो रोग निवारणका लागि मध्यपश्चिमका पाँच जिल्ला र सुदूरपश्चिमका नौवटै जिल्लामा यही माघ २५, २६ र २७ गते औषधि खुवाउने अभियान चलाइने कार्कीले जानकारी दिए ।

दुईदेखि ७० वर्षसम्म उमेरका गर्भवती, सात दिनका सुत्केरी, कडा कुपोषित र रोगी व्यक्ति बाहेककालाई हात्तीपाइले विरुद्धको औषधि खुवाउन लागिएको छ । क्युलेक्स जातको लामखुट्टेको टोकाइबाट लाग्ने यो सरुवा रोग जुनसुकै उमेर समूहका व्यक्तिलाई हुन सक्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । सरकारले यो रोगविरुद्ध निःशुल्क रुपमा औषधि खुवाउन लागेको हो ।

कैलालीमा सात लाख ५२ हजार ५२७ जनालाई हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउने  लक्ष्य रहेको जनस्वास्थ्य कार्यालयका नारायण चौधरीले बताए । यसैबीच जनस्वास्थ्य कार्यालयको पहलमा कैलालीमा विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई मङ्गलबार सामूहिकरुपमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us