
काठमाण्डु, २४ पुस – एकीकृत माओवादीका नेता वर्षमान पुनले चुनावमा पार्टीले भोगेको पराजयको जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित हेर्डक्वारटरले लिनुपर्ने बताएका छन् ।
चुनावमा जाने निर्णय अध्यक्षसहित वरिष्ठ नेताहरु सम्मिलित हेर्डक्वाटरले गरेको भन्दै पुनले अहिले कुनै पनि नेताले हारको दोष अरुलाई लगाउन नहुने बताए ।
‘चुनावमा जाने निर्णय सबै नेताहरु मिलेर गरेको हो,’ पुनले भने, ‘अहिले हारिसकेपछि बाबुरामजी अध्यक्षलाई दोष दिएर पानीमाथिको ओभानो बन्न मिल्दैन ।’
बीबीसी नेपाली सेवाकालागि रवीन्द्र मिश्रसँगको कुराकानीमा नेता पुनले हारको मुख्य जिम्मेवारी अध्यक्षको भएपनि सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवारी लिनुपर्ने बताए ।
फरक प्रसंगमा पुनले कुनै पनि संगठनको नेतृत्व परिस्थितिले निर्माण गर्ने भन्दै कसैको रहरमा नेतृत्व परिवर्तन नहुने स्पष्ट गरे । उनले एमाओवादीले परिवर्तनको एजेण्डा स्थापित गरे पनि विभिन्न कमजोरीले पार्टी चुनावमा पराजित भएको भन्दै अहिले नै सच्चिने मौका भएको उल्लेख गरे ।
नेता पुनले एकीकृत माओवादी अब नफुट्ने पनि दावी गरे । ‘पार्टी फुट्ने भनेको कार्यदिशा नमिलेर हो,’ पुनले भने, ‘अहिले कार्यदिशाको बारेमा विवाद छैन, त्यसैले पार्टी फुट्दैन ।’
उनले आफूले सधैं सही कुराको समर्थन गरेको भन्दै आफू कहिल्यै पनि कुनै नेता विशेषको पछि नलागेको बताए । ‘म जीवन हत्केलामा राखेर युद्धमा लागेको मान्छे हुँ,’ पुनले भने, ‘राम्रो लागेको कुराको समर्थन गर्छु, कुनै नेताको पछि लागेको छैन ।’
पुनमाथि कहिले अध्यक्ष प्रचण्ड र कहिले नेता बाबुराम भट्टराई निकट रहेर फाइदा लिने गरेको आरोप लाग्दै आएको छ ।