नेता नेपालले ‘दर्शन प्रश्नावली’को घुम्टो खोले

काठमाण्डु टुडे २०७० कार्तिक १६ गते १२:०९ मा प्रकाशित

Madhav-Kumar-nepalकाठमाण्डु, १६ कात्तिक–साहित्यकार मुकुन्द न्यौपानेको उन्नाइसौँ कृतिका रुपमा ‘दर्शन प्रश्नावली’ सार्वजनिक भएको छ । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले पुस्तकको घुम्टो खोलि शनिबार आयोजित समारोहमा लोकार्पण गरेका हुन् ।

पुस्तकमा जीवन र जगत्लाई बुझ्ने तथा विश्लेषण गर्ने आधारशिलाका अतिरिक्त एउटा विश्व दृष्टिकोणका रुपमा दर्शन रहेको र त्यसबारे बुझ्न सजिलो होस् भन्ने हेतुले प्रश्न–उत्तर शैलीमा प्रस्तुत गरिएको छ । भरतकुमार श्रेष्ठ प्रकाशक रहेका ६० पृष्ठको सो पुस्तकको मूल्य ५० रुपैयाँ तोकिएको छ ।

पुस्तकको लोकार्पण गर्दै वरिष्ठ नेता नेपालले पार्टीका पोलिटब्यूरो सदस्य एवम् दर्शनशास्त्रका हस्तीका रुपमा रहेका साहित्यकार न्यौपानेको दर्शन प्रश्नावलीको अध्ययनबाट भौतिकवाद र अध्यात्मवादबारे सजिलोसँग जानकारी प्राप्त गर्न सकिने बताए ।

पुस्तकका सर्जक न्यौपानेले समाज र प्रकृति, प्राणी एवम् जगत् अनि जीवन सञ्चालनका धेरै कुरा बुझ्न पूर्वीय दर्शनको अध्ययन गर्न जरुरी रहेको बताए । दर्शनशास्त्री न्यौपानेका यसअघि १५ वटा साहित्यिक र राजनीतिक सिद्धान्तसम्बन्धी कृति प्रकाशित भइसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us