अध्यक्ष रेग्मी भन्छन्, ‘निर्वाचन भाँड्ने धम्की नदिए हुन्छ’

काठमाण्डु टुडे २०७० कार्तिक २१ गते ३:०३ मा प्रकाशित


अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले राजनीतिक दलका रुपमा आफूलाई उभ्याउने शक्तिहरुले त्यही किसिमको व्यवहार गर्नुपर्ने बताएका छन् । उनले बहिष्कार र मतदानमा भाग नलिने व्यक्तिको स्वतन्त्रताको कुरा भए पनि अरूलाई मतदान गर्नबाट वञ्चित गर्नु तथा हिंसात्मक क्रियाकलाप गर्नु राजनीतिक क्रियाकलाप नभएको Khilaraj-Regmiबताएका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा निर्मला आचार्य र सूर्यचन्द्र बस्नेतले संयुक्त रुपमा गरेका कुराकानी–

चर्चा चुनावकै छ, सरकारको तयारी कसरी अघि बढेको छ ?

सरकारले सुरक्षा, कर्मचारी, बन्दोबस्ती (लजिस्टिक) लगायत निर्वाचन आयोगलाई आवश्यक सहयोग र समन्वय गरी निर्वाचनको तयारी करिब अन्तिम चरणमा पुगेको छ । मतदानलाई आवश्यक सामग्री पठाउने व्यवस्था आयोगले गरिरहेको छ ।

सुरक्षा व्यवस्थालाई सरकारले कसरी प्रबन्ध गरेको छ ?
सरकारले सबै सुरक्षा निकायलाई व्यवस्थित ढङ्गले मतदान केन्द्रदेखि राष्ट्रभरनै सुरक्षा निकायलाई योजनाबद्ध र व्यवस्थित ढङ्गले परिचालन गरेको छ । जिल्लामा जिल्लास्तरीय, क्षेत्रीय र केन्द्रीय सुरक्षा समितिले सम्पूर्ण व्यवस्थापन गरेको छ । राष्ट्रिय सुरक्षा परिषद्ले सुरक्षासम्बन्धी योजनालाई पारित गरेर अघि बढाएको छ ।

जहाँसम्म नेपाली सेना सुरक्षा व्यवस्थामा खटिएको कुरा हो त्यो पनि संवैधानिक व्यवस्थाअनुसार मन्त्रिपरिषद्ले पारित गरेर राष्ट्रपतिबाट स्वीकृत भइसकेपछि निर्वाचन प्रयोजनार्थ कार्यान्वयनमा आएको हो ।

सरकारले कस्तो सुरक्षा संवेदनशीलता अनुभूति गरेर सेना परिचलानको अवस्थामा पुगेको हो ?
सेनालाई खटाइएको कुरा कुनै आग्रह, पूर्वाग्रह होइन, कसैप्रति लक्षित छैन । केवल निर्वाचनलाई स्वतन्त्र, स्वच्छ बनाउन र मतदातालाई ढुक्क भएर मतदान गर्न, मतपेटिका सुरक्षित भएर आउन भन्ने जस्ता यावत महत्वपूर्ण कुराको सुनिश्चितता र यसको व्यवस्थापनमा तलमाथि केही नहोस् भनेर आश्वस्त तुल्याउन हो ।

तर सेनाको आफ्नैनै ‘चेन अफ कमान्ड’ हुन्छ भन्ने कुरा आएको छ नि ?
प्रहरीमा पनि आइजिपीदेखि सिपाहीसम्म ‘चेन अफ कमान्ड’ हुन्छ । सेनामा पनि चिफदेखि तलसम्म व्यवस्थापन हुन्छ । सबैको आ–आफनो कमान्डको प्रक्रिया आफ्नै ठाउँमा छ । केन्द्रीय सुरक्षा समितिदेखि लिएर क्षेत्रीय सुरक्षा समिति र जिल्लामा सबैलाई व्यवस्थित गर्न प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला सुरक्षा समिति हुन्छ । कुनै एउटा निकायमाथि यसको प्रयोजन के भन्ने प्रश्न होइन कि सम्पूर्ण सुरक्षा व्यवस्था एकीकृत अवधारणाबाट व्यवस्थापन भएको छ ।

निर्वाचन गतिविधिमा अवरोध उत्पन्न गराउने काम भैरहेको छ । ती घटनालाई सरकारले कसरी विश्लेषण गरिरहेको छ ?
समग्र मूल्याङ्कन गर्ने हो भने निर्वाचनमा सहभागी दलहरुकै बीच पनि यदाकदा तालमेल नहुँदा केही घटना भएका छन् । त्यसबाहेक अनेक विभिन्न तत्वहरुले निर्वाचन वहिष्कार गर्छु भनेका छन् अथवा केही भाँड्न सक्छु कि भन्ने तत्वले विभिन्न काम गरेको सूचना आएको छ ।

कानुनले यस्ता कुरा मान्न सक्दैन, यस्तो अवस्थामा कुनै पनि हिसावले त्यस्ता गतिविधिलाई कानुनी दायरामा ल्याएर उपयुक्त प्रक्रिया अघि बढाउन सरकार दृढ छ । सबैमा सुरक्षाकर्मीको पहुँच नपुग्न पनि सक्छ तर सुरक्षाकर्मीको भिजिलेन्स अधिकतम भएको छ । सुरक्षा निकायले आफूले गस्ती गर्नेदेखि निगरानी गर्नेसम्मका काम गरिरहेको छ ।

तैपनि यो महायज्ञमा सबैलाई सहभागी गराउन सकिएन, अध्यक्षज्यूलाई कस्तो महसुस हुन्छ ?
बढीभन्दा बढी दल र सबै नेपाली जनसमुदाय निर्वाचनमा सहभागी भएर समेटिनुपर्छ भनेर सरकार एकदम उदारताका साथ कुनै पनि आग्रह पूर्वाग्रह नराखी प्रस्तुत भएको हो । तरपनि मलाई दुःख लाग्छ कि केही राजनीतिक दलका केही व्यक्तिले यत्रो राष्ट्रिय अभियानमा भाग लिनुभएन ।

नकारात्मक कुरालाई सकारात्मक रुपमा र प्रतिकुल अवस्थालाई अनुकुल अवस्थामा परिणत गर्नुपर्छ । मेरो एकचालिस वर्षको न्यायीक जीवन र सरकार प्रमुखको अनुभूतिले पनि त्यही भन्छ ।

आफू अनुकूलको परिणाम आउने देखिएन भने निर्वाचनमा सहभागी दलहरुबाटै निर्वाचन हुन नदिने खालको वातावरण सृजना गर्ने र अन्तिममा कुनै वहानामा निर्वाचन हुन नदिने व्यवधान खडा गरिन्छ कि भन्ने आशङ्का पनि गरिएको छ । त्यस्तो अवस्थामा सरकारले के गर्छ ?

यो अलिकति अतिरञ्जित विश्लेषण हो, यसलाई मैले अर्थपूर्ण रुपमा लिएको छैन । कसको बहुमत आउँछ आउँदैन भन्ने कुरा गौण हो, पहिलो कुरा निर्वाचन राम्रो रुपमा सम्पन्न होस् भन्ने हो । हिजोको विश्लेषण, आजको परिस्थिति र भोलिको सुन्दर नेपालको निर्माणलाई ध्यानमा राखेर अवश्य उहाँहरुबाट संविधान निर्माण हुनेछ भन्नेमा म ढुक्क छु ।

सुरक्षा तयारीको हिसावले यसपटकको निर्वाचनमा कति प्रतिशत मत खस्छ भन्ने सरकारको अनुमान छ ?
म अनुमानित कुरा गर्दिन । सञ्चारमाध्यमबाट आएका सूचना, राजनीतिक दलहरुको घरदैलो लगायतका अभियानमा देखिएका जनसहभागिता र जनमत हेर्दा निर्वाचनमा प्रशस्त उत्सुकता छ । पूर्ण जनसहभागिता हुन्छ, अधिकतम् मतदान हुन्छ र निर्वाचन पूर्ण सफल हुन्छ भन्ने विश्वास मैले गरेको छु ।

रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us