
काठमाण्डू, १७ असार– नेपाली कांग्रेस नेता विनोद चौधरी नेता डा.शेखर कोइरालाप्रति खनिएका छन् । चौधरीले मंगलबार केन्द्रीय समिति बैठकमा डा. कोइरालाले सोमबार राखेका विचारको प्रतिवाद गरेका हुन् ।
चौधरीको केन्द्रीय सदस्यको उम्मेदवार हुने योग्यतारमापदण्ड नपुगेको विषयलाई हिजोको बैठकमा कोइरालाले उठाएका थिए । कांग्रेस विधान अनुसार केन्द्रीय सदस्यको उम्मेदवार हुन १० वर्ष क्रियाशील सदस्य हुनुपर्ने व्यवस्था रहेको छ ।
कांग्रेसको क्रियाशील सदस्य १० वर्ष नपुगी चौधरी केन्द्रीय सदस्यको उम्मेदवार बनेको भन्दै सभापति शेरबहादुर देउवासँग कोइरालाले जवाफ मागेका थिए । कोइरालाको भनाइको प्रतिवाद गर्दै चौधरीले भने,‘सारा विधि कुराहरू पार्टीको नियम, अर्को पार्टीबाट आएको पृष्ठभूमि, त्यसको कानुनी परिप्रेक्ष्य पार्टीको कानुन विभागले गरेको विश्लेषण र त्यसपछिको निर्णय र त्यसपछि कोर्टले समेत गरेको निर्णय अनुसार भएको हो ।’
चौधरीले आफूविरुद्ध हृदयश त्रिपाठीलाई सघाउन कोइराला पक्षले भूमिका खेलेको आरोप लगाए । ‘पार्टीको आधिकारिक उम्मेदवारको विरोधमा हृदयश त्रिपाठीका लागि ठाउँ–ठाउँमा, बुथ–बुथमा मान्छे राखिएको थियो ।
‘मलाई हराउन हर प्रयास गर्ने लुम्बिनी प्रदेशको महामन्त्रीको पदमा आसिन भएर बस्ने मान्छेलाई बोकेर हिंड्ने नेताले यो पार्टीलाई हाँक्ने हो भोलिको दिन ?’ चौधरीले कोइरालालाई प्रश्न गरे । लुम्बिनीको कांग्रेस महामन्त्री विक्रम खनाल नेता कोइराला निकट छन् ।