अन्तर्राष्ट्रिय मञ्चमा प्रधानमन्त्री ओलीः ‘धनी राष्ट्रहरूले सहयोगमा इमान्दारिता देखाऊन्’

काठमाण्डु टुडे २०८२ असार १७ गते १७:२५ मा प्रकाशित

काठमाण्डू, १७ असार– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वका विकसित राष्ट्रहरूसँग स्रोत र साधनको कमी नभएको तर अति कम विकसित राष्ट्रहरूलाई सहयोग गर्ने राजनीतिक इच्छाशक्तिमा भने अभाव रहेको बताएका छन ।

आज (मंगलबार) संयुक्त राष्ट्रसंघको विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजद्वारा आयोजित ‘विकास सहायतामा नयाँ सोच’ सम्बन्धी उच्चस्तरीय छलफलमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले भने, ‘एकपछि अर्को संकटले हाम्रो अर्थतन्त्रलाई हल्लाएको छ ।

द्वन्द्व र जलवायु संकटले वर्षौंको प्रगतिलाई उल्टाइदिएको छ। हामीले दिगो विकास लक्ष्यमा गरेको मिहिनेत खेर गइरहेको छ।’ प्रधानमन्त्री ओलीले अति कम विकसित राष्ट्रहरूले भोग्नुपरेका चुनौतीहरूको चित्रण गर्दै भने, ‘गरिबी झनै व्यापक छ, भोकमरि बढिरहेको छ, हाम्रा बालबालिका कुपोषणले ग्रस्त छन् ।

हामीलाई सबैभन्दा बढी आवश्यकता परेको बेला सहायता सुक्दै गएको छ ।’ उनले ऋणको बोझले थिचिएका राष्ट्रहरूले स्वास्थ्य र शिक्षामा भन्दा बढी ऋणको सावाँ–ब्याज भुक्तानीमा खर्च गर्नुपर्ने दुःखद अवस्था रहेको बताए । ‘यो केवल वित्तीय संकट होइन, यो एक मानवीय संकट हो,’ उनले जोड दिए ।

जलवायु परिवर्तनको असरबारे बोल्दै प्रधानमन्त्री ओलीले जलवायु अन्यायले सबैभन्दा बढी मार अति कम विकसित राष्ट्रहरूलाई पारेको उल्लेख गरे । ‘हामीले रोकथामका लागि पाउने सहयोगभन्दा बढी खर्च पुनरुत्थानमा गरिरहेका छौं । के हामीलाई वाचा गरिएको जलवायु न्याय यही हो ?’ उनले प्रश्न गरे।आफ्नो सम्बोधनमा प्रधानमन्त्री ओलीले विश्वव्यापी वित्तीय संकटको मूल कारण औंल्याउँदै भने, ‘हामीलाई थाहा छ, विश्वसँग पैसाको अभाव छैन ।

मात्र राजनीतिक इच्छाशक्तिको अभाव छ।’ सम्मेलनले पारित गरेको ‘कम्प्रोमिसो डे सेभिया’ (सेभिया प्रतिबद्धता) ले आशाको किरण देखाएको बताउँदै उनले यसलाई कार्यान्वयन गर्न विकास साझेदारहरूलाई आग्रह गरे । ‘अब यो प्रतिबद्धतालाई वास्तविक कार्यमा अनुवाद गर्ने जिम्मेवारी हाम्रो काँधमा आएको छ,’ उनले भने, ‘आउनुहोस्, सेभियाबाट प्राप्त गतिलाई दोहा कार्ययोजना र सन् २०३० को एजेन्डा साकार पार्न प्रयोग गरौं ।’

नेपाल र जाम्बियाले अति कम विकसित राष्ट्रहरूको तर्फबाट सह–सहजकर्ताको भूमिका निर्वाह गरेको स्मरण गर्दै उनले सेभिया प्रतिबद्धतालाई पूर्ण र इमान्दारीपूर्वक सम्मान गर्न विकास साझेदारहरूलाई आग्रह गरे । उनले सही वित्त व्यवस्थापनमार्फत गरिबीसँग लड्न, क्षमता निर्माण गर्न र दिगो अवसरहरू सिर्जना गर्न सकिने विश्वास व्यक्त गरे।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us