गठबन्धनबारे अब धेरै विकल्प छैनन्ः कांग्रेस प्रवक्ता महत

काठमाण्डु टुडे २०८२ असार १७ गते १८:२० मा प्रकाशित

काठमाण्डू, १७ असार– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बर्तमान कांग्रेस एमाले गठबन्धनबारे अब धेरै विकल्प नरहेको बताएका छन । आज (मंगलबार) बसेको केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् ।

सत्ता समीकरणमा विभिन्न खाले परीक्षण भइसकेको बताउँदै गठबन्धन भन्नासाथ सबैकुरा आफूले भनेको जस्तो नहुने उनले बताएका छन । कांग्रेस प्रवक्ता महतले भने, ‘गठबन्धनको बारेमा त समग्रमा अब धेरै विकल्प हामीसँग छैन । कसैको बहुमत छैन । विभिन्न खाले परीक्षण भइसक्यो सत्ता समीकरणको । गठबन्धन भन्ने बित्तिकै सबैकुरा आफूले भनेको जस्तो हुँदैन ।’

गठबन्धनका विषयमा प्रतिकुल विचार नआएको बताउँदै उनले संसदमा रहेका र पार्टीका नेताहरूमा अनुशासन नभएको कुरा केन्द्रीय समिति बैठकमा आएको पनि उनले बताएका छन । ‘गठबन्धनका विषयमा फेरि प्रतिकुल विचार केही आएको छैन ।

डेलिभरी अझ राम्रो हुनुपर्छ, पार्टीबाट गएका मन्त्रीहरूले राम्रो काम गर्नुपर्छ भन्ने छ । हाम्रो पार्टीमा अनुशासन भएन,’ उनले भने, ‘संसदमा र बाहिर रहेका साथीहरुले आफूलाई जे मनमा आयो त्यही बोल्ने काम भयो । व्यक्तिवादी प्रवृत्ति बढी भयो । अनुशासन पार्टीमा कायम गर्नुपर्छ भन्नेकुरा आएको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us