
काठमाण्डु– चुनावको वातावरण बढ्दै गएका अवस्थामा अधिकांश मतदाता दलका घोषणापत्रभन्दा पनि आफूहरुले व्यक्ति हेरेर मत दिने बताएका छन् । राजनीतिक दलले आफ्ना दलका धारणासहित घोषणापत्र सार्वजनिक गरे पनि मतदाता भने घोषणापत्रभन्दा व्यक्तिलाई हेरेर मत दिने बताउँछन् ।
राजनीतिक दलले चुनावमा निर्वाचित भए पछि विभिन्न काम गर्छौं भनी घोषणापत्रमा उल्लेख गर्ने गरे पनि ती प्रतिबद्धता पूर्णरुपमा कार्यान्वयनका तहमा नलैजाने विगतका कारण मतदातामा घोषणापत्रप्रति त्यति विश्वास हुने नगरेको सर्वसाधारणको तर्क छ । घोषणपत्र मत माग्ने एउटा प्रमुख आधार भए पनि विगतको अभ्यासका कारण त्यसको कार्यान्वयनप्रति जनविश्वास त्यति हुन नसकेको स्याङ्जा घर भई कीर्तिपुरमा बस्ने नारायण सुवेदी बताउँछन् ।
कीर्तिपुरका चन्द्रलाल श्रेष्ठका अनुसार समुदायमा सुख दुःखमा साथ दिने तथा अगुवाइ गर्ने व्यक्तिको मतदातामा अझै पनि प्रभाव पर्ने गरेकोले व्यक्ति हेरेर भोट हाल्ने बताउँछन् । विगतमा पाँच वटाभन्दा बढी चुनावमा भोट हालेका चम्पादेवी कीर्तिपुरका घनश्याम लामाले घोषणापत्रभन्दा व्यक्ति नै मतदाताको प्रमुख रोजाइ हुने बताए ।
शिक्षकहरु नै उम्मेदवार
आसन्न संविधानसभा सदस्यको निर्वाचनमा विभिन्न पार्टी निकट शिक्षक तथा विद्यालय सञ्चालक पनि प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवार भई प्रतिस्पर्धाको मैदानमा उत्रिएका छन् । शिक्षा नियमावलीमा शिक्षकहरुले राजनीतिक पार्टीको सम्लग्नता देखाउन नहुने उल्लेख भएपनि अधिकांश शिक्षकहरु कुनै न कुनै राजनीतिक पार्टीको झण्डा बोकेर निर्वाचन प्रचार प्रसारमा जोडिएका छन् ।
एमाओवादीले अखिल नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष रत्नबहादुर वलीलाई समानुपातिकतर्फको उम्मेदवार बनाएको छ भने प्रत्यक्षमा सङ्गठनका केन्द्रीय सदस्यद्वय इन्द्रहाङ किराँतीलाई संखुवासभा क्षेत्र नं १ र रामबाबु यादवलाई बारा क्षेत्र नं ३ बाट केन्द्रीय सदस्य बनाएको छ ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका निवर्तमान अध्यक्ष बाबुराम अधिकारीलाई नेकपा (एमाले) ले प्रत्यक्षतर्फ गोरखा क्षेत्र नं. २ को उम्मेदवार बनाएको छ । नेपाल शिक्षक सङ्घका पूर्वअध्यक्षद्वय केशव भट्टराई र मोहन ज्ञवालीलाई नेपाली काँग्रेसले समानुपातिकको सूचीमा राखेको छ । काँग्रेसले अवकाशप्राप्त शिक्षक हुकुमबहादुर विष्टलाई एमालेका उपाध्यक्ष वामदेव गौतमका प्रतिस्पर्धीका रुपमा प्युठान क्षेत्र नं. २ बाट उम्मेदवार बनाएको छ ।
परिवारभित्रै कोही प्रचारमा कोही बहिष्कारमा
एकीकृत नेकपा(माआवादी)बाट काठमाण्डु क्षेत्र नं २ का उम्मेदवार लीलामणि पोखरेल आफ्नो पक्षमा मत मागीरहँदै गर्दा उनका सहोदर भाइ नेश्वर पोखरेल प्युठानमा निर्वाचन बहिस्कार अभियानमा सक्रिय छन् ।
नेकपा–माओवादीको केन्द्रीय सदस्यसमेत रहनुभएका भाइ धनेश्वर पोखरेलको नेतृत्वमा रहेका टोलीले प्युठानमा एमाओवादीका क्षेत्र नं १ उम्मेदवार नवराज सुवेदी र क्षेत्र नं २ का उम्मेदवार कृष्णध्वज खड्कालाई विभिन्न ठाउँमा ढुङ्गा–मुढा गरिरहेका छन् । प्युठान एमालेका क्षेत्र नं १ का उम्मेदवार वामदेव गौतमलाई बिभिन्न ठाउँमा कालो झण्डा देखाउँदै अवरोधको प्रयास गरिरहेका छन् ।
लिलामणि पोखरेल मात्रै होइन एमाओवादी र माओवादीका धेरै नेता, कार्यकर्ता चुनावको पक्षमा र विपक्षमा उभिएका छन् । दुवै पार्टीका केन्द्रीय तहका नेताका धेरै परिवारनै निर्वाचनको पक्ष र विपक्षमा देखिएका छन् । जिल्ला तहका नेताको सङ्ख्या त झन् उल्लेख्य मात्रामा छ ।
माओवादी अध्यक्ष वैद्यका सम्धीसमेत रहेका एमाओवादीका प्रवक्ता अग्नि सापकोटा परिवार भन्दा राष्ट्रको आवश्यकता ठुलो भएकोले अहिलेको आवश्यकता निर्वाचन भएको बताउँछन् । पछिल्लो समय माओवादीले एमाओवादीप्रति आक्रमण बढाएकोमा आपत्ती जनाउँदै उनले जनताको भाग्य र भविष्यको फैसला गर्ने निर्वाचनमा सबैले सहयोग गर्नुपर्ने बताउँछन् ।
एमाओवादीका अर्का नेता कृष्णबहादुर महरा रोल्पा क्षेत्र नं १बाट उम्मेदवारी दिँदै छन् भने उनका सम्धी दिपक केसी प्युठानमा निर्वाचन बहिस्कारमा सक्रिय छन् । जाजरकोटबाट उम्मेदवारी दिनुभएका एमाओवादीका नेता शक्तिबहादुर बस्नेतकी सहोदर बहिनी आकांक्षा बस्नेत भने माओवादकिो कन्द्रीय सदस्यको हैसीयतमा निर्वाचन बहिस्कारमा जुटेकी छिन् ।
त्यसो त माओवादी उपाध्यक्ष सिपी गजुरेल र एमाओवादीबाट सिन्धुली क्षेत्रनं ३ का उम्मेदवार हरिबोल गजुरेलबिच पनि दाइ–भाइको नाता पर्दछ । सचिव गजुरेल सरकारले दिएका निजी सुरक्षाकर्मी (पिएसओ) छोडेर बहिस्कार अभियानमा काठमाण्डु छोडेर पूर्वी जिल्लाहरुमा गएका छन् ।