काठमाण्डू, ३ साउन– कानुन, न्याय तथा मानव अधिकार समितिकी सभापति समीक्षा बास्कोटाले अधिकारकर्मी बिनु यादव र निहारिका राजपुतसँग गृहमन्त्रीलाई भेट्न गर्ने वातारण बनाउन गृह मन्त्रालयसँग अनुरोध गरेकी छन ।
गृहमन्त्रीसँग यादव र राजपुतले भेट्न चाहेको विषयबारेमा बोल्दै सभापति बास्कोटाले कुनै पनि नागरिकले आफ्ना माग राख्न मन्त्रीलाई भेट्न पाउनुपर्ने र त्यसका लागि आवश्यक समन्वय गरिदिन गृह मन्त्रालयलाई अनुरोध गरेकी हुन ।
आज (आइतबार) सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा सभापति बास्कोटले यस्तो आग्रह गरेकी हुन् । विगतदेखि नै हिंसापीडित रहेको भन्दै आवाज उठाइरहेकी ‘कुमारी आमा’ का नामबाट परिचित निहारिका र बिनु शनिबार गृहमन्त्रीसँग आफ्ना समस्या राख्न नपाएको भन्दै घण्टी बजाएर सिंहदरबार गेटमा धर्ना दिन पुगेका थिए । तर उनीहरू दुवै जनालाई महिलालाई प्रहरीले लछार–पछार गरेर हटाएको थियो ।
समितिको बैठमा बोल्दै सभापति बास्कोटाले भनिन्, ‘नागरिकतासम्बन्धी विषय, उप्साहकोट पहिरोबाट विस्थापितको समस्या, बिनु यादव र निहारिका राजपुतका विषयमा सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल गरिनेछ । विशेषगरी नागरिकले आफ्ना समस्या मन्त्रीसमक्ष राख्न चाहेको अवस्थामा गृह मन्त्रालयलाई भेटघाटको व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।’
बैठकमा सभापति बास्कोटाले बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानव अधिकार, उचित खानपान र पोषणको अवस्थामा सुधार गर्न सरकारलाई निर्देशन समेत दिइन् ।