काठमाण्डू, ३ साउन– नेकपाका नेता डा. भीम रावलले एक रुपैयाँको नेपाली सिक्काबाट लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा हटाएर अर्को चित्र राख्ने निर्णय गरिएको भन्ने विषय सार्वजनिक भएको भन्दै सरकारसँग जवाफको माग गरेका छन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले गत असार ३२ गते एक रुपैयाँको सिक्कामा रहेको नेपालको नक्सा हटाई अमेरिकी सहयोगमा बनेको ‘लु भ्याकुर’ नामक गुम्बाको चित्र राख्न राष्ट्र बैङ्कलाई निर्देशन दिएको भन्ने सूचना बाहिर आएको पनि उनले बताए ।
उक्त विषय सत्य भए प्रधानमन्त्रीले यसअघि दिएको नेपाल–भारत सीमासम्बन्धी अभिव्यक्तिपछिको अर्को गम्भीर राष्ट्रघाती तथा नेपालको भौगोलिक अखण्डताविरुद्धको निर्णय हुने दाबी गरेका छन् ।
उनले भनेका छन्, ‘यदि यस्तो गरिएको हो भने प्रधानमन्त्रीले नेपालले भारतको धेरै जग्गा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएपछिको अर्को गम्भीर राष्ट्रघाती र नेपालको भौगोलिक अखण्डता विरुद्धको घातक निर्णय गरिएको ठहरिने छ ।’
उनले यसबारेमा राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाल सरकारले जनतालाई तत्काल यथार्थ जानकारी गराउनुपर्ने बताएका छन् ।