प्रतिपक्षलाई पेलेर अघि बढ्ने सरकार टिक्दैनः एमाले उपमहासचिव महासेठ

काठमाण्डु टुडे २०८३ साउन ३ गते १२:०६ मा प्रकाशित

काठमाण्डू, ३ साउन– पूर्व मन्त्री एवं एमाले उपमहासचिव रघुवीर महासेठले प्रतिपक्षलाई पेलेर अघि बढ्ने सरकार धेरै समय नटिक्ने बताएका छन । आज (आइतबार) जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै एमाले उपमहासचिव महासेठले यस्तो बताएका हुन ।

उनले सरकारलाई प्रतिपक्षलाई बेवास्ता नगरी सहकार्य गरेर अगाडि बढ्न सुझाव समेत दिएका छन । वर्तमान सरकार गठन भएको चार महिना पुग्न लाग्दा पनि प्रभावकारी काम हुन नसकेको संकेत गर्दै महासेठले सबै दललाई मिलाएर लैजानुपर्ने पनि बताएका छन ।

उपमहासचिव महासेठले भने, ‘लोकतान्त्रिक सरकार भनेको प्रतिपक्षसँग सहकार्य गर्दै अघि बढ्ने सरकार हो । यदि सरकारले प्रतिपक्षलाई बेवास्ता गरेर वा दबाएर अघि बढ्ने सोच राख्छ भने त्यो दीर्घकालीन रूपमा सफल हुन सक्दैन ।’ उनले थपे, ‘देश कुनै पार्टीको निजी सम्पत्ति होइन, सार्वभौमसत्ता जनतामा निहित छ ।

त्यसैले सरकारले सबै दलसँग सहकार्य गर्दै जनहितलाई प्राथमिकतामा राख्नुपर्छ ।’ उपमहासचिव महासेठले सरकारले शिक्षा, स्वास्थ्य र घरजग्गा कारोबारमा लगाएको नयाँ करको चर्को आलोचना गरेका छन् । साउन १ गतेदेखि लागू हुने गरी जग्गा खरिद–बिक्रीमा दुवै पक्षले कर तिर्नुपर्ने व्यवस्था र शिक्षा तथा स्वास्थ्यमा थपिएको करको भारले सर्वसाधारण मारमा परेको उनको दाबी छ ।

जनताको आधारभूत आवश्यकतामा आर्थिक बोझ थप्नु न्यायोचित नभएको भन्दै उनले यस्ता निर्णयमा तत्काल पुनर्विचार गरी जनताको हितलाई केन्द्रमा राख्न सरकारसँग माग गरे ।

मधेश प्रदेशमा रास्वपाले पाएको जनमतबारे टिप्पणी गर्दै महासेठले मधेसी जनताले विश्वास गरेर पठाएकाले रास्वपाले पनि मधेशको भावनाअनुकूल काम गर्नुपर्ने पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us