प्रधानमन्त्री संसदमा उपस्थित हुनेबारे संसद् सचिवालय अनभिज्ञ

काठमाण्डु टुडे २०८३ असार ४ गते १२:५५ मा प्रकाशित

काठमाण्डू, ४ असार– प्रधानमन्त्री बालेन्द्र शाह बालेन प्रतिनिधिसभाको बैठकमा उपस्थित हुनेबारे संसद् सचिवालयले अनभिज्ञ छ ।

कार्यसूचीअनुसार आगामी आर्थिक वर्ष ०८३–८४ को वार्षिक विनियोजित बजेटमाथि प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ प्रधानमन्त्री बालेनले दिने कार्यक्रम रहेको छ ।

रक्षा मन्त्रालय प्रधानमन्त्री बालेन शाहले सम्हालिरहेका छन् । यसकारण यो मन्त्रालयको बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ उनैले जवाफ दिनुपर्ने बाध्यता समेत छ ।

यसबाहेक प्रधानमन्त्री बालेनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने छ । तर, प्रधानमन्त्री बालेन प्रतिनिधिसभाको बैठकमा उपस्थित हुने निश्चिात भएको छैन ।

प्रधानमन्त्रीले जवाफ दिने भन्दै अन्य मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ । जस अनुसार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जवाफ दिइसकेका छन् ।

यसबाहेक गृहमन्त्री, अर्थमन्त्री, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीले जवाफ दिँदैछन् । पूर्वाधार विकास मन्त्री, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री, परराष्ट्रमन्त्रीले पनि जवाफ दिँदैछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us