कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश

काठमाण्डु टुडे २०८३ जेठ २२ गते १७:३४ मा प्रकाशित

काठमाण्डू, २२ जेठ– गत पुस अन्तिम साता भएको विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गरेपछि नेपाली कांग्रेसभित्र देखिएको विवाद समाधान गर्न नेताहरु निरन्तर वार्तामा छन ।

कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबिच विवाद समाधानका लागि अनौपचारिक रूपमा निरन्तर वार्ता भइरहेको छ । नेता रमेश लेखकको समन्वयनमा शर्मा र खड्काबिच वार्ता भइरहेको स्रोतले जानकारी दिएको छ ।

लेखकले आफूले पार्टी विवाद समाधानका लागि खड्का र शर्माबिच छलफलको समन्वय गरिदिएको जानकारी दिए । ‘पार्टीको विवाद समाधानका लागि वार्ता गर्नुपर्छ । छलफल गर्नुपर्छ भनेर पूर्ण दाइ (पूर्णबहादुर खड्का) र विश्वजी (विश्वप्रकाश शर्मा)बिच समन्वय गरिदिने काम गरेको हुँ,’ लेखकले भने, ‘अनौपचारिक वार्ताहरू भइरहेका छन् । म वार्तामा भने बसेको छैन । छलफलहरू सकारात्मक भएका बुझेको छु ।’

१४ औँ महाधिवेशनबाट आएको केन्द्रीय समिति सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहको असहमतिबिच तत्कालीन महामन्त्रीद्वय गगन थापा र शर्माको अगुवाइमा भएको विशेष महाधिवेशनले थापाकै नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो । त्यसपछि देउवा र शेखर समूह निर्वाचन अयोग र सर्वोच्च अदालतमा विशेष महाधिवेशन अवैधानिक भएकाले त्यसबाट आएको नदिन माग गर्दै गएका थिए ।

तर, आयोग र सर्वोच्चले विशेष महाधिवेशनबाट आएको थापा नेतृत्वको समितिलाई नै मान्यता दिएपछि विवाद झन् बढेको थियो । अहिले त्यो विवाद समाधानका लागि नेताहरू छलफलमा जुटेका हुन् । महामन्त्री प्रदीप पौडेलले पनि नेताहरू विवाद समाधानका लागि वार्तामा रहेको जानकारी दिए ।

 ‘शीर्ष तहमा विवाद मिलाउने प्रयास भइरहेको छ । नेताहरू निरन्तर छलफलमा हुनुहुन्छ,’ महामन्त्री पौडेलले रातोपाटीसँग भने, ‘जेठ अन्तिमसम्म सहमति जुट्ने अपेक्षामा हामी छौँ।’

पार्टीभित्रको विवाद समाधानका लागि सभापति थापाले गत वैशाख ६ र २३ गते निवर्तमान कार्यवाहक सभापति खड्कालाई भेटेका थिए । भने वैशाख २२ गते नेता डा. कोइरालालाई पनि भेटेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us