रास्वपाको नीलो क्रान्ति धेरैदिन टिक्दैन, अब हामी हरित क्रान्ति गर्छौंः कुलमान घिसिङ

काठमाण्डु टुडे २०८३ जेठ २२ गते १६:०२ मा प्रकाशित

काठमाण्डू, २२ जेठ– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफूहरूले अब हरित क्रान्ति गर्ने बताएका छन ।

आज (शुक्रबार) आयोजित एक कार्यक्रममा बोल्दै घिसिङले हिजो धेरै नाममा क्रान्ति हुँदा राजनीतिक परिवर्तन मात्रै भएको बताउँदै अब हरित क्रान्तिमार्फत देशको स्थिति परिवर्तन गर्ने समेत बताएका छन । उनले भने, ‘उज्यालो नेपाल पार्टीले नेपालमा अब हरित क्रान्ति गर्छ ।

अब हरित क्रान्ति गर्छौं हामी, ‘हिजो धेरै क्रान्तिका नाममा राजनीतिक परिवर्तन भए । सेतो क्रान्ति भनेर परिवर्तन भए, रातो क्रान्ति भनेर परिवर्तन भए १० वर्षे जनयुद्ध भयो ।’ पछिल्लो जेनजी आन्दोलनअघि रास्वपाले नीलो क्रान्ति भनेर भनेको उनले बताए ।

‘जेनजी आन्दोलनका बेला त्यो भन्दा अगाडि स्थापित पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले नीलो क्रान्ति भनेर भन्नेभयो,’ उनले भने । तर, रास्वपाको नीलो क्रान्ति धेरै नटिक्ने उनले ठोकुवा गरे । ‘नीलो क्रान्ति धेरैदिन टिक्दैन । त्यसैले अन्तिमको क्रान्ति भनेको यो हरित क्रान्ति हो,’ घिसिङले भने ।

यसले दिगो रूपमा नेपाललाई संस्थागत गर्ने उनले दाबी गरे । उनले अगाडि भने, ‘यो देशको दिगो विकासका लागि, दिगो राजनीतिक स्थायित्वका लागि, अब यो देशमा आवश्यक भनेको हरित क्रान्ति हो ।

यो हरित क्रान्ति उज्यालो नेपाल पार्टीले गर्छ ।’ त्यसैले उज्यालो नेपाल पार्टीको झन्डा हरियो रहेको अध्यक्ष घिसिङले बताएका छन ।

उनले भने, ‘हरित क्रान्तिको मुख्य विषय भनेको सुशासन हो । यसलाई हामीले आधारभूत विषय बनाउँछौं र हरित क्रान्तिका अन्य विभिन्न पाटाहरू पनि छन् ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us