काठमाण्डू, २१ जेठ– प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन शाहले प्रश्नोत्तर कार्यक्रममा बोल्दै नेपालले भारतीय भूमि मिचेको बताएपछि यसको पक्ष र विपक्षमा बहस जारी छ । खास गरी विपक्षी दलका सांसदहरूले यही विषयलाई लिएर संघीय संसद्का दुवै सदन अवरोध गर्दै आइरहेका छन् ।
यही विषयमा सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद क्रान्तिशिखा धितालले सीमा विवादको विषय दशकौंदेखि समाधान हुन नसकेको राष्ट्रिय मुद्दा भनेकी छन् । उनले प्रधानमन्त्रीले व्यक्त गरेको विचारलाई खलनायकको रुपमा चित्रण गरिएको भन्दै आपत्ति समेत व्यक्त गरेकी छन ।
‘मेरो चासो प्रधानमन्त्रीले व्यक्त गर्नुभएको विचारलाई जसरी खलनायकको रूपमा चित्रित गरिँदैछ, त्यसतर्फ छ। सोचौँ त, विगतमा अहिलेका विपक्षी दलहरूले सरकार सञ्चालन गर्दा पनि छिमेकी राष्ट्रसँग विभिन्न दृश्य र अदृश्य समझदारी तथा सम्झौताहरू गरेका थिए । कतिपय सन्धि–सम्झौताहरू यस्ता पनि छन्, जसले राष्ट्रिय हितमाथि प्रत्यक्ष प्रश्न उठाएका छन्, ‘यसको अर्थ अरूले गरे, हामीले पनि गर्दा फरक पर्दैन भन्ने होइन ।
तर कम्तीमा विगतलाई सम्झिएर वर्तमानको मूल्याङ्कन गरिनुपर्छ । स्मरण रहोस्, अघिल्ला सरकारहरूको पालामा त वार्ता परको कुरा, उच्चस्तरीय राजनीतिक भ्रमणसमेत हुन नसकेको अवस्था थियो । अहिले कम्तीमा ‘संवाद गरौँ, वार्ता गरौँ र समस्याको समाधान खोजौँ’ भन्ने वातावरण बनेको छ। त्यो किन गौण बनाइँदैछ ?’
उनले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणलाई प्रधानमन्त्रीको भ्रमणको तयारीको रुपमा रहेको संकेत समेत गरेकी छन । ‘कतिपयलाई लागिरहेको छ, सभापतिको एउटा भ्रमण वा प्रधानमन्त्रीको एउटा अभिव्यक्तिले दशकौँ पुरानो सीमा विवादको अन्तिम समाधान दिनुपर्छ ।
तर कूटनीति त्यसरी चल्दैन। प्रधानमन्त्रीको कुनै पनि भ्रमण एजेन्डाविहीन हुँदैन,’ उनले थप भनेकी छन्, ‘त्यसको तयारीका लागि पर्दाअघि र पर्दापछि राजनीतिक, कूटनीतिक र प्राविधिक तहमा अनेकौँ चरणका संवाद, छलफल र समझदारीहरू भइरहेका हुन्छन्। आज देखिएको औपचारिक भ्रमण त लामो प्रक्रियाको एउटा दृश्य भाग मात्र हो ।
यदि प्रधानमन्त्रीको एउटा अभिव्यक्तिले मात्र यति ठूलो तरंग सिर्जना गर्न सक्छ भने, आगामी दिनमा अझ जटिल, तिता , संवेदनशील र चुनौतीपूर्ण विषयहरू सतहमा आउन सक्छन् ।’
यस विषयलाई लिएर नेपाल र भारतका दुवै देशका संसद् र सडक आगामी दिनमा अझै तातिन सक्ने भन्दै उनले दशकौंदेखि थाती रहेको विषयलाई समाधानतर्फ लैजाने प्रयास कहिल्यै सहज नहुने बताएकी छन् ।