काठमाण्डू, १९ जेठ– सीमा विवाद लगायतका प्रश्नमा प्रधानमन्त्री बालेन शाह पुनः सदनमा जवाफ दिन तयार रहेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी गराएका छन ।
नेपाल–भारत सीमा विवादबारे प्रधानमन्त्रीले यसअघि संसदमा भनको विषय नै सत्य भएको बताउँदै उनले आवश्यक परे फेरि उत्तर दिन प्रधानमन्त्री तयार रहेको मन्त्री पोखरेलले जानकारी गराए ।
आजको मन्त्रिपरिषद बैठकपछि पत्रकाहरुसँग कुरा गर्दै प्रवक्ता पोखरेलले भने, ‘प्रधानमन्त्री सदनप्रति उत्तरदायी हुनुहन्छ । उहाँले अस्ति पनि सदनमा उपस्थित भएर उत्तर दिनुभएको हो ।
आवश्यकता पर्दाखेरि उहाँ फेरि सदनमा आएर उत्तर दिनुहुन्छ ।’ कतिपय ठाउँमा भारतले उपभोग गरिरहेको सीमा नेपालमा पर्न सक्ने र नेपालले उपभोग गरेको पनि भारतमा पर्न सक्ने कुरा प्रधानमन्त्रीले बोलेको र त्यो नै सत्य भएको मन्त्री पोखरेलले जानकारी दिए ।
यो विषय दुई देशबीचको सीमा विवाद मिलाउने कूटनीतिक प्रयासको क्रममा गठित संयन्त्रबाट आएको र त्यो सुन्दा प्रधानमन्त्रीले आफू अचम्ममा परेको बताएको पोखरेलको भनाइ छ ।
प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति संसदमा दिएपछि चौतर्फी आलोचना भइरहेको छ । सरकारका प्रवक्ता पोखरेलले सीमा विवाद दुई देशबीचको कूटनीतिक संवादबाटै समाधान गरिने बताए ।
उनले भने, ‘दुई देशबीच सीमा विवाद मिलाउनका लागि विभिन्न संयन्त्रहरु छन् । पहिलादेखि नै बनेको संयन्त्र हो । सीमा विवाद कसरी सल्टाउने भनेर प्रधानमन्त्री जीले भन्नु भएको छ ।
यो विषयमा नेपालले पनि डिप्लोमेटिक नोट पठाएको छ, इन्डियाले पनि पठाएको छ । दुई देश बसेर जति पनि सीमा विवाद छ, त्यो मिलाउने कुरा प्रधानमन्त्रीजीले नै भनिसक्नु भएको छ ।’