कृष्णबहादुर महरालाई एक लाख धरौटीमा छोड्न अदालतको आदेश

काठमाण्डु टुडे २०८३ जेठ १८ गते १८:०५ मा प्रकाशित

काठमाण्डू, १८ जेठ– भ्रष्टाचार मुद्दा खेपिरहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई विशेष अदालतले एक लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ ।

विशेष अध्यक्षका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य बिदुर कोइरालाको इजलासले पूर्वसभामुख महरालाई विद्युतीय चुरोट ९भेप०भित्र राखेर सुन तस्करीमा सघाएको आरोप सहितको मुद्दामा महरासँग एक लाख रुपैयाँ धरौटी मागेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट सुन तस्करीमा सघाएर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २६ चैत, २०८२ मा पूर्वसभामुख कृष्ण बहादुर महरा, उनका छोरा राहुल सहित २९ जनामाथि भ्रष्टाचारमुद्दा चलाएको थियो । १० पुस, २०७९ मा फ्लाई दुवईबाट चिनिया नागरिक लि हाङ सोङले २ वटा सुटकेश ल्याएका थिए । त्यसभित्र ७३ वटा बट्टामा ७३० वटा इलेक्ट्रोनिक सिगरेट९भेप० थियो ।

त्यसमा सुन लुकाइछिपाइ ल्याएको र त्यसको तस्करीमा भन्सारका कर्मचारीहरूले मिलेमतो गरेको अख्तियारको आरोप थियो । शंकास्पद देखिएको मालवस्तुको भौतिक रुपमा पनि चेक गर्नुपर्नेमा तस्करहरूसँगको मिलेमतोमा चेकजाँच नै नगरेको अख्तियारको आरोप थियो ।

त्यसरी बरामद गरिएको सामान गोदाममा बन्द गरी राख्नुपर्नेमा गलत मनसायले प्रमुख भन्सार अधिकृतको कार्यकक्षमा राखेको र सुन छुटाउने समूहका व्यक्तिहरूसँग अस्वभाविक भेटघाट र फोन सम्पर्क गरेको भनी अख्तियारले महरा लगायतमाथि मुद्दा चलाएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us