१२ वैशाख- थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुमवासी बस्ती हटाउने काम शनिबारबाट सुरु भएको छ ।
सार्वजनिक जग्गा तथा नदी करिडोर अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना हटाउने सरकारी अभियानअन्तर्गत स्काभेटर बस्तीमा खटाइएको हो ।
बस्ती खाली गराउने क्रममा कुनै अप्रिय घटना नहोस् भन्ने उद्देश्यले बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
यद्यपि, यसपटकको अवस्था अघिल्ला प्रयासहरूभन्दा शान्त देखिएको छ ।
घटनास्थलमा नेपाल प्रहरी र नगर प्रहरीका टोलीहरूले सुकुमवासीका सरसामान सुरक्षित रूपमा सार्न सहयोग गरिरहेका छन् । घरभित्र रहेका लत्ताकपडा, भाँडाकुँडा, ग्यास सिलिन्डर, ओछ्यानलगायतका अत्यावश्यक सामग्री सुरक्षित राख्न प्रहरी आफैं सक्रिय रूपमा ओसारपसारमा जुटेका छन् ।
यसअघि सोही क्षेत्रमा डोजर प्रयोग गर्दा स्थानीयवासी र सुरक्षाकर्मीबीच ढुंगामुढा र झडपसमेत भएको थियो । तर यसपटक प्रशासनले सहकार्यको वातावरण बनाएर बस्ती खाली गराउने रणनीति अपनाएको देखिन्छ ।
सम्बन्धित निकायहरूले यसअघि नै पटक–पटक सूचना जारी गर्दै उक्त क्षेत्र खाली गर्न आग्रह गर्दै आएका थिए । बागमती नदी करिडोर विकास तथा सभ्यता संरक्षणको दीर्घकालीन योजनाअनुसार त्यहाँका संरचनाहरू हटाउने काम अघि बढाइएको हो ।