काठमाण्डू, ११ वैशाख– सरकारले सुकुमवासी बस्ती खाली गराउने निर्णयको विरोधमा थापाथलीमा प्रदर्शन सुरु भएको । सरकारविरुद्ध नारा लगाउँदै स्थानीयहरुले प्रदर्शन गरिरहेका छन् ।
उनीहरुले डोजर आतंक बन्द गर, सुकुमवासी आवासको हक सुनश्चित गर, निरंकुश सरकार चाहिँदैन लगायतका नारा लगाउँदै प्रदर्शन गरीरहेका छन ।
सरकारमा जानुअघि रास्वपा सभापति रवि लामिछानेले सुकुमवासी बस्तीमा डोजर चलाए आफू छाती थाप्न जाने अभिव्यक्ति दिएका थिए । तर रास्वपाकै बरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकारले डोजर चलाउने निर्णय गरेपछि युवाहरु आक्रोशित छन् ।
उनीहरुले रवि लामिछानेलाई छाती थाप्न आउन आग्रह गर्दै नारा लगाइरहेका छन् । सरकारले थापाथली, शंखमूल, शान्तिनगर र मनोहरा क्षेत्रका बस्ती खाली गराउन बिहीबार साँझदेखि नै ‘माइकिङ’ गरेको थियो । आज बिहानबाट केहीले बस्तीबाट सामान सारिरहेका छन् ।
तर केही युवाहरु भेला भएर विरोध प्रदर्शन गरिरहेका छन् । राष्ट्रिय जेनजी नागरिक अभियानको अगुवाइमा प्रदर्शन भएको हो । उनीहरुले भूमिहीन दलित–सुकुमवासी र अव्यवस्थित बसोवासीलाई बस्तीबाट हटाउने सरकारको निर्णयविरुद्ध थापाथली बस्ती हुँदै माइतीघर मण्डलासम्म र्याली आयोजना गर्ने तयारी समेत गरिएको छ ।
प्रधानमन्त्री बालेन शाहले वैशाख ९ गते सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर सुकुमवासी बस्ती खाली गराउने निर्देशन दिएका थिए ।