काठमाण्डू, १० वैशाख– एमालेको को विशेष महाधिवेशन पक्षधरले पार्टी पुनर्गठन र रूपान्तरणका लागि भन्दै ‘नेक्स्टजेन एमाले’ को अवधारणा प्रस्तुत गर्दै छलफल सुरु गरेको छ ।
विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियानसँगै ‘नेक्स्टजेन एमाले’ को अवधारणा (छलफल पत्र) सार्वजनिक गरिएको अभियानकर्ताहरूले जनाएका छन् ।
छलफल पत्रमाथि डिजिटल र भौतिक रूपमा बहस गरेर निचोडमा पुगिने उनीहरूको तर्क छ । ७७औँ कम्युनिस्ट स्थापना दिवसका दिन सार्वजनिक गरिएको छलफल पत्रमा एमालेप्रति घट्दो जनविश्वास पुनः स्थापित गर्न संरचनागत तथा व्यवहारगत सुधार अपरिहार्य रहेको बताइएको छ ।
सार्वजनिक छलफल पत्रमा वर्तमान राजनीतिक अवस्थालाई ‘सङ्कटको घडी’ का रूपमा व्याख्या गरिएको छ । यतिवेला एमालेका अगाडि वैचारिक र सैद्धान्तिक भन्दा पनि नीतिगत, कार्यशैलीगत र साङ्गठनिक चुनौतीहरू देखिएको भन्दै यसले पार्टीको मौलिक चरित्रअनुसारको क्रान्तिकारी रूपान्तरण, पुनर्गठन र पुनर्जागरणको माग गरिरहेको छलफल पत्रमा व्याख्या गरिएको छ ।
बदलिँदो समाजको आवश्यकता, आकाङ्क्षा र अपेक्षा अनुरूप वास्तवमै जबजका अनुयायीका रूपमा गतिशील भएर मुलुक र आन्दोलनको नेतृत्व गर्छौ वा लाछी भएर पार्टी र आन्दोलनले खोजेको क्रान्तिकारी रूपान्तरणको बाधक बन्छौँ भन्ने अहम् प्रश्न एमालेसामु उब्जिएकाले बहस र छलफलको आवश्यकता भएको बताइएको छ ।
‘नेक्सजेन एमाले जनतातर्फ, जरातर्फ’ भन्ने मूल नारासहितको प्रस्तावमा पार्टीलाई वैचारिक स्पष्टता, सङ्गठनात्मक चुस्तता र कार्यशैलीगत उत्तरदायित्वतर्फ रूपान्तरण गर्नुपर्नेमा विशेष जोड छ । उक्त अवधारणमा हुने छलफलमा पार्टीका नेता कार्यकर्तामा मात्र नभएर आम जनतासमेत जोडिन सक्ने एमाले युवासंघका पूर्व नेता मोदनाथ सिलवालले जानकारी दिएका छन ।