गुल्मीमा घर–घरमै राहदानी सेवा

काठमाण्डु टुडे २०८३ वैशाख १० गते १२:४९ मा प्रकाशित

काठमाण्डू, १० वैशाख– जिल्ला प्रशासन कार्यालय गुल्मीले जिल्लावासीलाई सहज र छरितो सेवा प्रदान गर्ने उद्देश्यले अब घरमै राहदानी सेवा उपलब्ध गराउन सुरु गरेको छ ।

सेवाग्राहीलाई कार्यालयसम्म धाउनुपर्ने बाध्यता अन्त्य गर्दै सरकारले अघि सारेको सेवा घरदैलोमै भन्ने नीतिअनुसार यो कार्यक्रम कार्यान्वयनमा ल्याइएको बताइएको छ ।

नयाँ व्यवस्थाअनुसार पहिलो चरणमा रेसुङ्गा नगरपालिकाका–११, १२ र १४ मा बसोबास गर्ने नागरिकलाई लक्षित गर्दै घरमै पुगेर राहदानीसम्बन्धी सेवा प्रदान गर्न थालिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

यो सेवा विस्तारसँगै विशेषगरी ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अशक्त तथा टाढा दुरीका कारण कार्यालयसम्म पुग्न कठिनाइ भोगिरहेका नागरिकहरूलाई ठूलो राहत मिल्ने अपेक्षा गरीएको छ ।

यस कार्यक्रमअन्तर्गत जिल्ला प्रशासन कार्यालयसँग समन्वय गर्दै जिल्ला हुलाक कार्यालयले घर–घरमै पुगेर राहदानी वितरण गर्ने जिम्मेवारी लिएको कार्यालय प्रमुख खेतबहादुर खत्रीले जानकारी दिएका छन । यसले सेवाग्राहीलाई राहदानी बनाउनदेखि प्राप्तिसम्मको प्रक्रिया अझ सहज, छिटो र व्यवस्थित बनाउने विश्वास समेत लिइएको छ ।

सेवा शुभारम्भ कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले नागरिकलाई प्रविधिमैत्री र पहुँचयुक्त सेवा प्रदान गर्नु राज्यको दायित्व भएको उल्लेख गरे। उनले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन प्रशासन प्रतिबद्ध रहेको जनाउँदै आगामी दिनमा जिल्लाका अन्य स्थानीय तहहरूमा पनि यो सेवा विस्तार गरिने जानकारी दिए ।

उनका अनुसार, अहिले परीक्षणका रूपमा सुरु गरिएको यो अभियान सफल भएमा क्रमशः जिल्लाभर विस्तार गरिने बताए । नागरिकलाई सेवा लिन कार्यालय धाउनुपर्ने अवस्था अन्त्य गर्दै घरदैलोमै सेवा पुर्याउने लक्ष्यका साथ यो कार्यक्रम सुरु गरेको पनि उनले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us