काठमाण्डू, ९ वैशाख– गृहमन्त्री सुधन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन्। विवादित व्यापारी दीपक भट्टसँग सेयर लगानी लगायतका विषयमा नागरिक स्तरबाट उठेका प्रश्न र टिप्पणीहरूलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले आज (बुधबार) नैतिकताको आधारमा राजीनामा दिएको घोषणा गरेका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री गुरुङले आजकै मितिदेखि लागू हुने गरी पद त्याग गरेको जानकारी दिएका हुन् । चैत १३ देखि गृह प्रशासनको नेतृत्व सम्हाल्दै आएका उनले सार्वजनिक जीवन स्वच्छ र पारदर्शी हुनुपर्नेमा जोड दिएका छन् । मन्त्री गुरुङले पदभन्दा नैतिकता र शक्तिभन्दा जनविश्वास ठूलो भएको उल्लेख गरेका छन् ।
‘आज देशमा सुशासन र जवाफदेहिताको माग गर्दै उठिरहेको जेनजी आन्दोलनले सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ भन्ने सन्देश दिएको छ, उनले भनेका छन्, ‘मेरा ४६ जना भाइ–बहिनीहरूको रगत र बलिदानीको आडमा बनेको यो सरकारमाथि कसैले प्रश्न उठाउँछ भने त्यसको जवाफ नैतिकता नै हुनुपर्छ ।’
उनले आफूसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा ‘स्वार्थको द्वन्द्व’ नदेखियोस् भन्ने उद्देश्यले राजीनामा दिएको स्पष्ट पारेका छन् । राजीनामा घोषणाकै क्रममा गुरुङले सञ्चारकर्मीहरूलाई पनि नैतिकताको प्रश्न उठाएका छन् ।
उनले भनेका छन्, ‘कति मिडियाकर्मी साथीहरूको कहाँ–कहाँ ‘स्वीट शेयर’ छ, त्यो पनि बिस्तारै आउला। रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ ।’ उनले आम नेपाली र युवाहरूलाई सम्बोधन गर्दै साँच्चै परिवर्तन चाहने हो भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिन आग्रह समेत गरेका छन ।