कम्युनिस्ट आन्दोलन खडेरीको दुबो जस्तो फेरि मौलाउने छः प्रदीप ज्ञवाली

काठमाण्डु टुडे २०८३ वैशाख ९ गते १०:५३ मा प्रकाशित

काठमाण्डू, ९ वैशाख– पूर्व मन्त्री एवं एमाले नेता प्रदीप ज्ञवालीले कम्युनिस्ट आन्दोलन खडेरीको दुबो जस्तो फेरी मौलाउने दाबी गरेका छन । आज (बुधबार) नेपाल कम्युनिस्ट पार्टीको स्थापनाको ७७ औँ वर्षको अवसरमा नेता ज्ञवालीले यस्तो बताएका हुन । उनले स्थापनाकालदेखि नै विभिन्न धक्का, विभाजन र विरोधाभास खेपे पनि यो आन्दोलन दुबो जस्तै हरेक खडेरी र दलनलाई चिर्दै पुनः मौलाउँदै आएको पनि बताएका छन ।

एमाले नेता ज्ञवालीले विगतको वर्ष कम्युनिस्ट आन्दोलनका लागि सुखद नरहेको पनि बताएका छन । उनले यो असाधारण धक्कालाई आधार बनाएर केही व्यक्तिले आन्दोलन समाप्त भएको घोषणा गरेको पनि बताए ।

‘विचारधाराको मृत्यु र इतिहासको अन्त्यको घोषणा गर्ने फुकुयामा अचेल आफ्ना भविष्यवाणीप्रति पछुताउदैछन् ’ ज्ञवालीले लेखेका छन् ‘हाम्रा फुकुयामाहरुका भविष्यवाणी पनि व्यर्थ साबित हुनेछन् ।

किनभने कम्युनिस्ट आन्दोलनको स्थापना,अस्तित्व र भविष्य कसैको व्यक्तिगत इच्छाबाट होइन,समाजको ऐतिहासिक विकासक्रम,वर्ग संरचना र रूपान्तरणको वस्तुगत आवश्यकताबाट निर्दिष्ट छ ।’ ज्ञवालीले कम्युनिस्ट आन्दोलनले खेपेको वर्तमान धक्का र चुनौतीलाई सामान्य रूपमा लिने छुट आफूहरूलाई नभएको उल्लेख गरेका छन् ।

बरु पार्टी स्थापनाका बेलाका अभिभारा पुरा गर्नका लागि सङ्कल्प गर्ने दिनका रूपमा आजको दिनलाई सम्झनु पर्ने उनको भनाइ छ ।‘वर्तमानका धक्का र चुनौतीलाई सामान्य रूपमा लिने छुट हामीलाई छैन ।

यसले हामीबाट निर्मम आत्मसमीक्षा,संरचनागत पुनर्संरचना,नयाँ डाइनामिक्सलाई बुझ्न र सामना गर्न सक्ने नयाँ ऊर्जाको माग गरिरहेको छ’ ज्ञवालीले लेखेका छन् ‘७७ औँ स्थापना दिवसको सन्दर्भमा सङ्कल्प गरौँ हामी यी अभिभारा पूरा गर्दै आन्दोलनलाई नयाँ जीवन दिनेछौँ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us