राष्ट्रिय सभाको उपाध्यक्षमा एमाले सांसद भण्डारी निर्विरोध

काठमाण्डु टुडे २०८२ चैत २२ गते १६:२० मा प्रकाशित

काठमाण्डू, २२ चैत– राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेकी सांसद लिलाकुमारी भण्डारी निर्विरोध भएकी छन । उपाध्यक्षको मनोनयन दर्ताका लागि तोकेको समयमा भण्डारीको मात्रै उम्मेदवारी परेको संघीय संसद् सचिवालयका सहप्रवक्ता अनन्त कोइरालाले जानकारी दिएका छन ।

सचिवालयले उपाध्यक्षका लागि आइतबार साढे २ बजेदेखि साढे ३ बजेसम्म मनोनयन दर्ताका लागि समय छुट्ट्याएको थियो । भण्डारीको प्रस्तावकमा एमालेका राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगाल छन् ।

समर्थकमा नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकाय, जनता समाजवादी पार्टी नेपालकी सांसद पुजा चौधरी र नेपाली कम्युनिस्ट पार्टीकी सांसद मदनकुमारी शाह गरिमा रहेका सहप्रवक्ता कोइरालाले जानकारी दिए ।

सचिवालयले उम्मेदवारीबारे जानकारी आइतबार अपरान्ह ४ बजे सूचना जारी गरेर प्रकशित गर्नेछ । निर्वाचित भएको घोषणा सोमबार सवा १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us