उपसभामुखबारे रवि र बालेनबिच फरक मत

काठमाण्डु टुडे २०८२ चैत २२ गते १५:२८ मा प्रकाशित

काठमाण्डू, २२ चैत– प्रतिनिधिसभाको उपसभामुख कुन दललाई दिने भन्ने विषयमा सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन शाहबिच मेतभेद सुरु भएको छ ।

आइतबार बिहान मात्र उपसभामुखको विषयमा रवि र बालेनबिच छलफल भएको रास्वपा उच्च स्रोतले जनाएको छ । सो क्रममा प्रधानमन्त्री बालेनले उपसभामुख श्रम संस्कृति पार्टीलाई दिनुपर्ने पक्षमा धारणा राखेको स्रोतको भनाइ छ ।

तर, सभापति रवि राप्रपालाई दिनुपर्ने पक्षमा उभिएका थिए । दुई नेताबिच सहमति नभएपछि आजै बेलुका फेरि छलफलमा बस्न लागिएको बुझिएको छ । ‘उपसभामुख कुन दललाई दिने भन्नेबारे सभापति रवि र प्रधानमन्त्रीबिच बिहान छलफल भएको थियो । तर कुरा मिलेको छैन । प्रधानमन्त्री नयाँ दल भएकाले श्रम संस्कृतिलाई दिनुपर्ने पक्षमा उभिनुभएको छ ।

सभापति राप्रपालाई दिनुपर्ने पक्षमा उभिनुभएको छ । सभापति र राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाहीबिच एकचरण कुराकानी भएको छ । यसै विषयमा आज बेलुका बस्दै हुनुहुन्छ’ स्रोतले भन्यो ।

रास्वपाका उपसभापति डीपी अर्याल सभामुखमा निर्वाचित भइसकेका छन् । संविधानअनुसार सभामुख र उपसभामुख फरक दल र लिङ्गको हुनुपर्ने भएकाले उपसभामुखबारे रास्वपाका शीर्ष नेतृत्वबिच छलफल भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us