गृहमन्त्रीलाई पुनको सुझावः नेताहरूको दबाबमा नपर्नु, अपराधीलाई कारबाही गर्नु

काठमाण्डु टुडे २०८२ चैत २२ गते १४:१९ मा प्रकाशित

काठमाण्डू, २२ चैत– स्वतन्त्र सांसद महावीर पुनले गृहमन्त्री सुधन गुरुङलाई कसैको दबाब र प्रभावमा नपरी निडर भएर काम गर्न सुझाव दिएका छन ।

आज (आइतबार) संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पुनले गृहमन्त्री गुरुङलाई यस्तो सुझाव दिएका हुन । उनले विगतमा पार्टी र शीर्ष नेतृत्वको हस्तक्षेपका कारण गृहमन्त्रीहरूले प्रभावकारी काम गर्न नसकेको स्मरण समेत गराएका छन ।

उनले मुलुकमा व्याप्त भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्न गृहमन्त्री गुरुङले चालेका पछिल्ला कदमहरू प्रशंसनीय रहेको भन्दै त्यसलाई निरन्तरता दिन आग्रह समेत गरेका छन । सांसद पुनले पहिलेका गृहमन्त्रीहरूले कुनै ठोस कारबाही प्रक्रिया अघि बढाउन खोज्दा आफ्नै दलका प्रमुख नेताहरूको दबाब झेल्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै अहिले त्यस्तो हुन नहुने पनि बताए ।

उनले भने, ‘गृहमन्त्रीले अब कसैको पनि दबाबमा पर्नु भएन, राम्रो काम गर्नुपर्‍यो, अपराधिक कार्यमा संलग्न जोसुकै भए पनि तदारुकताका साथ कारबाहीको दायरामा ल्याउनुपर्छ ।’

उनले गृहमन्त्रीलाई आफ्नो अभियानमा विचलित नहुन र जनअपेक्षा अनुसारको नतिजा दिन प्रोत्साहन समेत गरे। संसदमा आफू प्रतिपक्षी भूमिकामा रहेको स्पष्ट पार्दै पुनले कुनै पनि राजनीतिक स्वार्थ पूर्तिमा आफू संलग्न नहुने प्रतिबद्धता जनाए ।

उनले देशको हित र सुशासनका पक्षमा हुने हरेक सकारात्मक काममा आफ्नो समर्थन रहने तर गलत कार्यको सधैँ विरोध गर्ने पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us