पर्यटन मन्त्रीको कार्यकक्षमा मोबाइल लैजान निषेध

काठमाण्डु टुडे २०८२ चैत २० गते १५:२१ मा प्रकाशित

काठमाण्डू, २० चैत– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री गनेश पौडेलले आफ्नो कार्यकक्षमा मोबाइल फोनलगायतका विद्युतीय उपकरण लैजान निषेध गरेका छन ।

मन्त्रीसँग खिचिएका तस्बिरहरूको दुरुपयोग गर्दै केही व्यक्तिले अनधिकृत लाभ लिन खोजेको गुनासो आएपछि यस्तो निर्णय गरिएको उनले सामाजिक सञ्जालमार्फत शुक्रबार जानकारी गराएका हुन ।

मन्त्रालय वा अन्य भेटघाटका क्रममा खिचिएका सौहार्दपूर्ण तस्बिरहरू देखाएर केही व्यक्तिले मन्त्रीसँग आफ्नो विशेष सम्बन्ध रहेको दाबी गर्ने र सर्वसाधारण तथा सरकारी निकायबाट लाभ लिन खोजेको सूचना प्राप्त भएको उनको भनाइ छ।

यस विषयमा आफ्नो र सचिवालयको गम्भीर ध्यानाकर्षण भएको उनले उल्लेख गरेका छन् । यस्ता गतिविधि नियन्त्रण गर्न र मन्त्रालयको कार्यसम्पादनलाई व्यवस्थित, मर्यादित तथा पारदर्शी बनाउन आजैदेखि लागू हुने गरी मन्त्रीको कार्यकक्षभित्र मोबाइल फोन र अन्य विद्युतीय उपकरण लैजान रोक लगाइएको मन्त्री पौडेलले प्रस्ट पारेका छन्। उनले यस नियमबाट सहृदयी आगन्तुक र कर्मचारी वर्गमा पर्न जाने असुविधाप्रति क्षमा समेत मागेका छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us