पत्रकारिता गर्ने रावल बनिन् सामान्य प्रशासनमन्त्री

काठमाण्डु टुडे २०८२ चैत १३ गते १४:२२ मा प्रकाशित

 काठमाण्डू, १३ चैत– सुदूरपश्चिमकी प्रतिभा रावल मन्त्री बनेकी छिन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसद रावललाई ‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय’ को जिम्मेवारी दिइएको छ ।

उनीसँग पत्रकारिताको लामो अनुभव छ । ३२ वर्षीया रावलले झण्डै एक दशकसम्म पत्रकारितामा बिताएकी छन । साउथ एसिया चेकु, ‘रिपब्लिका’ दैनिक हुँदै उनी ‘ग्यालेक्सी फोरके टेलिभिजन’ सम्म पुगिन् । ग्यालेक्सीमा रहँदा उनले सञ्चालन गर्ने ‘लालमोहर’ कार्यक्रम निकै चर्चित रहेको थियो ।

कार्यक्रमको निर्माताका रूपमा उनले समाजका विभिन्न सरोकारवाला र नीति–निर्माताहरूलाई स्टुडियोमा बोलाएर जनताका समस्यामाथि प्रतिबद्धता गराउने काम गर्थिन् ।

ती प्रतिबद्धताहरू शब्दमा मात्र सीमित हुने र कार्यान्वयनमा नआउने देखेपछि उनलाई लागेको थियो– परिवर्तनका लागि बाहिर बसेर प्रश्न गरेर मात्र पुग्दैन,नीति निर्माणको थलोमै पुग्नुपर्छ ।

यही सोच र ग्यालेक्सी टिभीका प्रमुख रवि लामिछानेको प्रेरणाले उनलाई पत्रकारिताको क्यामेरा र माइक छाडेर राजनीतिको मैदानमा पुर्‍यायो। रास्वपा स्थापनाको केही समयमै उनी सक्रिय राजनीतिमा लागेकी थिइन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us