पूर्वसञ्चारकर्मीलाई सञ्चार मन्त्रालयको जिम्मेवारी

काठमाण्डु टुडे २०८२ चैत १३ गते १४:०३ मा प्रकाशित

काठमाण्डू, १३ चैत–  झन्डै एक दशक लामो सञ्चारकर्मको अनुभव, भूराजनीति र अन्तर्राष्ट्रिय सम्बन्धको अनुभव हासिल गरेका नुवाकोट–१ का रास्वपा सांसद डा. विक्रम तिमिल्सिनाले सूचना प्रविधि तथा सञ्चार मन्त्रालयको जिम्मेवारी प्राप्त गरेका छन ।

अस्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालय र क्विन्सल्यान्ड विश्वविद्यालयमा अध्ययन एवं प्राज्ञिक काम गरेको अनुभव भएका ४३ वर्षिय तिमिल्सिनाले महत्त्वपूर्णमध्येको एक सञ्चार मन्त्रालयको जिम्मेवारी प्रप्त गरेका हुन ।

सामान्यतयाः सञ्चारमन्त्रीले सरकारको प्रवक्ताको जिम्मेवारी समेत सम्हाल्छन् । एसियन इन्स्टिच्युट फर एडभान्स्ड रिसर्चको नेतृत्व गरेका उनी अस्ट्रेलियामा उच्चशिक्षा हासिल गरी नेपाल फर्किएका थिए ।

त्यसपछि अध्यापनकर्ममा सक्रिय उनी त्यसबाहेक जलवायु परिवर्तन, भू–राजनीति, सामाजिक समावेशीकरण, द्वन्द्व व्यवस्थापन लगायतका विषयमा अध्ययन अनुसन्धान गर्दै आएका छन् ।

दुई वर्षअघि मात्रै रास्वपासँग आबद्ध उनी अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा पनि आवद्ध छन् । उनले त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुन र कूटनीति पढाएका थिए । नुवाकोट–१ मा नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महत र नेकपा नेता हितबहादुर तामाङलाई पराजित गरी निर्वाचित भएका हुन् ।

उनी अस्ट्रेलिया जानुअघि नेपालमा अंग्रेजी साहित्य अध्यापन र रेडियो सगरमाथामा सञ्चारकर्मीको रूपमा आबद्ध थिए । सञ्चार तथा सूचना प्रविधि मन्त्रीको काम सरकारको प्रवक्ताको भूमिका निर्वाह गर्न पनि हुन्छ । यसअघि सञ्चारमन्त्रीलाई नै प्रवक्ताको जिम्मेवारी दिइन्थ्यो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us