म्याराथन होइन,अब १०० मिटरको दौड जस्तो गतिमा काम गर्नुपर्छः मनिष झा

काठमाण्डु टुडे २०८२ चैत १२ गते १४:१९ मा प्रकाशित

काठमाण्डू, १२ चैत– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले नेपालको लोकतन्त्रको बाँकी यात्रा अब म्याराथनको गतिमा नभई १०० मिटरको दौड जस्तो तीव्र गतिमा तय गर्नुपर्ने बताएका छन ।

आज (बिहिबार) नवनिर्वाचित सांसदको रूपमा शपथ ग्रहणका लागि सिंहदरबार आइपुगेका झाले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन ।

उनले देशको राजनीति र अर्थतन्त्रलाई गति दिन अबको कार्यकाल चुनौतीपूर्ण र निर्णायक हुने पनि बताएका छन । नेपालको लोकतन्त्रको ६६ वर्षको इतिहासलाई स्मरण गर्दै उनले अबको केही वर्षमा दशकौँको उपलब्धि हासिल गर्ने गरी काम गर्नुपर्ने पनि बताएका छन ।

झाले विश्वको बदलिँदो राजनीति र अर्थतन्त्रको परिवेशमा नेपालले आफ्नो गतिलाई तीव्र बनाउनुको विकल्प नरहेको पनि बताएका छन । उनले भने, ‘हाम्रो ६६ वर्षको लोकतान्त्रिक यात्रालाई अब यो कार्यकालले अर्को दुई–तीन दशकको स्पिडमा लैजानुपर्छ, ‘म्याराथनको गतिले अब पुग्दैन, हामी १०० मिटरको स्पिडमा दौडेर बाँकी यात्रा तय गर्नुपर्ने अवस्थामा छौँ ।’

उनले मतदाताले दिएको विश्वास र मतलाई निकै गम्भीरताका साथ लिएको बताउँदै जनताले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक निभाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन ।

निर्वाचनमा मतदाताले आफ्नो पार्टीलाई दिएको समर्थन महत्त्वपूर्ण रहेको बताउँदै झाले यसले आफूहरूलाई थप जिम्मेवार बनाएको महसुस गरेका छन् । मतदाताले मन र मत दुवै दिएर सुविधाजनक अवस्थामा पुर्‍याइदिएको उल्लेख गर्दै उनले जनताको त्यो आशालाई निराशामा बदल्न नदिने पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us