सरकारले जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्छः प्रदीप पौडेल

काठमाण्डु टुडे २०८२ चैत ११ गते १६:०९ मा प्रकाशित

काठमाण्डू, ११ चैत– महामन्त्री प्रदीप पौडेलले तत्काल भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन ।

आज (बुधबार) कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसंग कुरा गर्दै महामन्त्री पौडेलले यस्तो बताएका हुन । महामन्त्री पौडेलले आयोगले प्रतिवेदन बुझाइसक्दा पनि सरकारले हालसम्म सार्वजनिक नगरेकोप्रति आपत्ति जनाउँदै तत्काल सार्वजनिक गर्न माग गरेका हुन् ।

उनले वर्तमान सरकारको म्याण्डेड निर्वाचन र भदौ २३ र २४ को घटनाको छानविन रहेकाले आयोगको प्रतिवेदन सार्वजनिक नगर्नुले विभिन्न आशंका र उपशंका जन्मिएको समेत बताए ।

महामन्त्री पौडेलले भदौ २३ र २४ गतेको घटनामा आयोगले गहिराइमा पुगेर छानबिन गरेको विश्वास व्यक्त गर्दै छानविन गर्दा दोर्षि देखिएकालाई कारावही गर्नुपर्ने समेत बताए । उनले प्रतिवेदनका बिषयमा अनुमान गर्ने परिस्थीति नवनाउन आग्रह समेत गरेका छन ।

त्यसैगरि महामन्त्री पौडेलले भ्रष्टाचार अन्त्य, सुशासनका साथै विद्यमान कानूनहरुलाई संशोधन गर्नका लागि नयाँ बन्ने सरकारलाई पूर्णरुपमा सहयोग हुने बताए । उनले लिपुलेक, लिम्पियाधुराका विषयमा राज्यले कूटनीतिक प्रयास गरेर दिर्घकालीन रुपमा नै समाधान खोज्नुपर्ने धारणा समेत व्यक्त गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us