नेताको घरमा भेटिएको पैसाबारे अनुसन्धान हुनुपर्छः गगन थापा

काठमाण्डु टुडे २०८२ चैत १० गते १६:२३ मा प्रकाशित

काठमाण्डू, १० चैत– कांग्रेसका सभापति गगन थापाले गत २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा नेताका घरमा भेटिएका पैसाबारे अनुसन्धान हुनुपर्ने बताएका छन ।

आज (मंगलबार) देखि कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा आफ्नो धारणा राख्दै सभापति थापाले यस्तो बताएका हुन । उनले भेटिएको पैसाबारे कानुनसम्मत छानबिन हुनुपर्ने बताएका हुन् ।

कांग्रेस सभापति थापाले भने, ‘जेनजी आन्दोलनका क्रममा भदौ २४ गते नेताका घरमा भेटिएका पैसाको कानुनसम्मत अनुसन्धान हुनुपर्छ, ‘अनुसन्धान गर्ने विषय सार्वजनिक खपतको विषय मात्रै हुनुहुन्न ।

निष्कर्ष निकालिनुपर्छ ।’ जेनजी आन्दोलनका क्रममा भदौ २४ गते कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित घरमा आन्दोलनकारीले आगजनी गरेका थिए ।

देउवा र कांग्रेसकी तत्कालीन केन्द्रीय सदस्य डा.आरजु राणा देउवामाथि आन्दोलनकारीले साङ्घातिक आक्रमण गरेका थिए । आगजनीका क्रममा त्यहाँ पैसा जलेका भिडिया सार्वजनिक भएका थिए ।

कांग्रेसका अर्का नेता दीपक खड्काको बुढानीलकण्ठस्थित घरमा पनि आगजनी गरिएको थियो । र, त्यहाँ पनि पैसा जलेका भिडियो सार्वजनिक भएका थिए । सभापति थापाले अख्तियारको दुरुपयोग र नीतिगत भ्रष्टाचारका विषयमा पनि तथ्यसंगत छानबिन गरिनुपर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us