सिंहदरबारमा रास्वपालाई सबैभन्दा ठूलो कार्यकक्ष

काठमाण्डु टुडे २०८२ चैत ९ गते १६:३५ मा प्रकाशित

काठमाण्डू, ९ चैत– सङ्घीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६ राष्ट्रिय दलका संसदीय कार्यालयहरू व्यवस्थापन अन्तिम चरणमा पुगेको छ ।

दलहरूको सांसद सङ्ख्या र पदाधिकारीको आवश्यकताअनुसार कक्षहरू छुट्याइएको छ भने अधिकांश स्थानमा रङ्गरोगन, कार्पेट र फर्निचर जडानको काम सम्पन्न भइसकेको बताइएको छ ।

यसपटकको निर्वाचनमा बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई भने सबैभन्दा ठूलो कक्ष दिइएको छ । सचिवालय भवन नं २ मा व्यवस्थित गरिएको रास्वपाको संसदीय दलको कक्षमा कुर्सीसहितको बैठक हल राखिएको छ । रास्वपाका १८२ जना सांसद छन् । पूर्ववत् प्रयोगमा रहेका कार्पेट, पर्दा र अधिकांश फर्निचर नै पुनः प्रयोग गरिएको छ ।

थोरै नयाँ थपिएका छन् । खर्च कटौतीलाई प्राथमिकता दिने दलको धारणाअनुसार रास्वपाका महामन्त्री एवं नवनिर्वाचित सांसद कबिन्द्र बुर्लाकोटीले नयाँ खरिद नगरी उपलब्ध सामग्रीबाटै व्यवस्थापनका लागि गरेको आग्रहअनुसार व्यवस्थापन गरिएको कर्मचारी बताउँछन् । बैठक हलसँगै पदाधिकारीका लागि थप पाँच कक्षसमेत तयार पारिएको छ ।

यसअघि रास्वपाले प्रयोग गर्दै आएको भवनमा भने अन्य दलहरूको कार्यालय व्यवस्थापन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका कक्षहरू त्यही भवनमा तयार गरिएको छ ।

यद्यपि ती कक्षहरूमा रङ्गरोगन सम्पन्न भइसकेको छ भने कार्पेट र फर्निचर जडानको काम जारी छ । कांग्रेस र एमालेलाई भने साबिककै संसदीय दलका कार्यालयमा निरन्तरता दिइएको छ । सांसद सङ्ख्या र पदाधिकारीका आधारमा कोठा विभाजन गरिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us