काठमाण्डू, ८ चैत- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन् ।
प्रधानमन्त्री कार्की भेट्न लामिछाने आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । भेटमा सभापति लामिछानेले सफलतापूर्वक निर्वाचन सम्पन्न गरी मुलुकलाई शान्तिपूर्ण निकास दिएकामा प्रधानमन्त्री कार्कीलाई बधाई दिए ।
भेटपछि लामिछानेको सचिवालयले जारी गरेको प्रेस नोटमा समयमै निष्पक्ष निर्वाचन सम्पन्न भई मुलुकले सहज र लोकतान्त्रिक निकास पाउनु सामान्य विषय नभएको उल्लेख गर्दै लामिछानेले उक्त सफलताका लागि प्रधानमन्त्री कार्की, मन्त्रिपरिषदका सदस्य र सचिवालय टिमलाई बधाइ र धन्यवाद दिएको भनिएको छ ।
‘यहाँको चट्टानी अडान र दृढताकै कारण मुलुकले निकास पायो । विगतका कुनै पनि निर्वाचनभन्दा शान्तिपूर्ण, निष्पक्ष र गुणस्तरीय निर्वाचन सम्भव भएको छ ।
सानो टिम र छोटो समयमा विश्वलाई नै चकित पार्ने गरी निर्वाचनमार्फत मुलुकलाई लोकतान्त्रिक निकास र सुरक्षित अवतरण गर्न तपाईँ सफल हुनुभएको छ ।
यसका लागि तपाईंप्रति हाम्रो उच्च सम्मान छ । तपाईंको यो योगदान मुलुकले सधैं सम्झिनेछ । हामी पनि सम्झिइरहनेछौं । आगामी दिनमा पनि यहाँको निरन्तर मार्गदर्शन र अभिभावकीय भूमिकाको अपेक्षा राखेका छौं । तपाईंको अनुभव र मार्गदर्शन देशलाई र हाम्रो सरकारलाई अझै आवश्यक पर्नेछ ’ नोटमा भनिएको छ ।
जवाफमा कार्कीले रास्वपाले निर्वाचनमा पाएको सफलताका लागि बधाइ दिँदै एकताबद्ध भएर देशवासीलाई निराश हुने ठाउँ नराखी काम गर्न सुझाव दिएकी थिइन् ।
अहिले देश रोएको भन्दै कार्कीले मुलुकले आशा गरेका युवाहरूले देशवासीका अपेक्षा पूरा गरी देशको मुहारमा मुस्कान ल्याउन सक्नुपर्ने बतइन् ।
चुनौती धेरै भए पनि सम्हालिएर अघि बढ्न सुझाव दिँदै उनले इमानका साथ काम गरे अपेक्षित नतिजा हासिल हुने उल्लेख गरिन् ।