एमाले सुदूरपश्चिम संसदीय दलका नेता रावलको कार्यालयमा युवा संघको तालाबन्दी

काठमाण्डु टुडे २०८२ चैत ८ गते १३:५६ मा प्रकाशित

काठमाण्डू, ८ चैत– एमाले निकट राष्ट्रिय युवा संघ नेपालले एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र सिंह रावलको कार्यालयमा तालाबन्दी लगाएको छ ।

सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका रावलको प्रदेश सभास्थित दलको कार्यालयमा आइतबार दिउँसो राष्ट्रिय युवा संघ कञ्चनपुर कृष्णपुर नगर कमिटीले तालाबन्दी गरेको हो ।

युवा संघले रावल सम्पर्कविहीन भएको भन्दै तालाबन्दी गरिएको जनाएको छ भने शिघ्र सम्पर्कमा आउन आग्रह समेत गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न अस्पताल व्यवस्थापन समितिमा गरेको नियुक्तिमा रावलले पार्टीमा सरसल्लाहमा नगरेको भन्दै एमालेमा असन्तुष्टि चुलिएको छ ।

पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीले राजनीतिक नियुक्ति गर्ने विषय संसदीय दल र प्रदेश सरकारले परामर्श नगरेको भन्दै पार्टी केन्द्रलाई समेत जानकारी गराइसकेको स्रोत बताउँछ । प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशीले पनि यो विषयमा पार्टी केन्द्रलाई जानकारी गराएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us