काठमाण्डू,७ चैत- लगातारको वर्षाले पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पर्ने दाउन्ने खण्ड अवरुद्ध हुँदा यातायात सञ्चालन प्रभावित भएको छ ।
सडक चिप्लो र हिलाम्य बनेपछि मुख्य राजमार्ग पूर्ण रूपमा बन्द भएको हो । राजमार्ग अवरुद्ध हुँदा सयौं यात्रु बीच बाटोमै रोकिएका छन् ।
वैकल्पिक रूपमा पाल्पा हुँदै सवारी डाइभर्सन गरिएको भए पनि बुटवल–पाल्पा सडक खण्ड अन्तर्गत सिद्धबाबा मन्दिर नजिक पहिरो झरेपछि उक्त सडक पनि बन्द भएको छ ।
यससँगै बुटवल–नारायणगढ खण्ड समेत प्रभावित भएको छ । मुख्य र वैकल्पिक दुवै मार्ग अवरुद्ध हुँदा यात्रुहरू गन्तव्यमा पुग्न नसकी अलपत्र परेका छन् भने ढुवानी सेवा पनि प्रभावित भएको छ ।
मौसममा सुधार भएर सडक सुख्खा नहुँदासम्म दाउन्ने खण्डमा सवारी सञ्चालनमा आउने सम्भावना नरहेको जनाएको छ ।
यात्रुहरूलाई अत्यावश्यक नभएसम्म यात्रा नगर्न र गर्नै परे सडकको अवस्थाबारे जानकारी लिएर मात्र निस्कन प्रहरीले आग्रह गरेको छ ।
सडक विस्तार भइरहेको दाउन्ने खण्डमा वर्षाका कारण पटक–पटक समस्या दोहोरिँदै आएको छ ।