गगनको राजीनामाबारे केसीः बदल्छु भनेर हिंडेको क्याप्टेनले बीचमै छाड्न मिल्दैन

काठमाण्डु टुडे २०८२ चैत ६ गते १५:११ मा प्रकाशित

काठमाण्डू, ६ चैत– कांग्रेस नेता अर्जुननरसिंह केसीले निर्वाचनको हार वा जितकै आधारमा मात्र नेतृत्वको परीक्षण गरिनु गलत हुने तर्क गरेका छन । आज (शुक्रबार) कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठकअघि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस नेता केसीले यस्तो बताएका हुन ।

उनले पार्टी सभापति गगनकुमार थापाको राजीनामा बेठिक भएको टिप्पणी गरे । कांग्रेस नेता केसीले पार्टी र मुलुक नै बदल्छु भनेर मैदानमा आएको क्याप्टेनले जिम्मेवारी छोडेर जान नमिल्ने टिप्पणी समेत गरे ।

निर्वाचनको परिणामबाट नआत्तिन पार्टी कार्यकर्ताहरूलाई आग्रह समेत उनको थियो । उनले भने, ‘५० दिनको अवधीमा विगत वर्षौंदेखि थुप्रिएका विकृति र विसंगती तथा हाम्रै कामबाट समेत जनता असन्तुष्ट रहेको अवस्थामा ५० दिनमा के गर्न सकिन्छ ?

म त गगनजीले राजीनामा गर्नु नै बेठिक भन्ने मान्छे हो, ‘अहिले केन्द्रीय कार्यसमितिको बैठकमा यसबारे छलफल हुने भएकोले यसमा व्यक्तिगत टिप्पणी नगरौं । एउटा ठुलो मैदानमा क्याप्टेन भएर पार्टी पनि बदल्छु, देश पनि बदल्छु भनेर जो व्यक्ति अघि बढ्यो उसले बीचमा छोडेर जान मिल्देन ।’

पार्टीका विगतका विकृति र विसंगतिहरू रातारात समाधान नहुने तर्क गर्दै केसीले ५० दिनको छोटो अवधिमा जादुई परिवर्तन खोज्नु व्यवहारिक नहुने भन्दै पार्टीलाई थापाको आवश्यकता रहेको पनि उनले बताए ।

उनले भने, ‘कुनैपनि नेपाली कांग्रेसका साथीले हारबाट आत्तिनुपर्ने कुरा छैन । यत्रो ठूलो जनमत प्राप्त गरेर आउनुभएका साथिहरू छन् । उहाँहरूलाई हाम्रो सम्पूर्ण रुपबाट शुभेच्छा छ । स्थिरता दिनुस्, समृद्धि र विकास दिनुस् ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us