संयोजक रक्षा बममाथि दुर्व्यवहारको जेनजी फ्रन्टले गर्‍यो भर्त्सना

काठमाण्डु टुडे २०८२ चैत ६ गते १२:४४ मा प्रकाशित

काठमाण्डू, ६ चैत– भदौ २३ र २४ गतेका घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघर मण्डलामा भइरहेको शान्तिपूर्ण प्रदर्शनका क्रममा नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बममाथि भएको दुर्व्यवहारको फ्रन्टले कडा निन्दा गरेको छ ।

आज (शुक्रबार) फ्रन्टले एक विज्ञप्ति जारी गर्दै चैत ५ गते संयोजक बममाथि भएको घटनाको घोर भर्त्सना गरेको हो । शान्तिपूर्वक भेला हुने र विचार राख्ने संवैधानिक अधिकारको प्रयोग गरिरहेकी आन्दोलनकारीमाथिको आक्रमण सभ्य लोकतान्त्रिक समाजमा सह्य नहुने फ्रन्टले जनाएको छ ।

विज्ञप्तिमा सहिद परिवार र घाइतेहरूका आफन्तको पीडा, आक्रोश र प्रश्नहरूलाई आफूहरूले सधैँ सम्मान गर्ने उल्लेख गरिएको छ। तर, आन्दोलनकारीहरूबीच आपसमा हुने यस्ता आक्रमणले आन्दोलनलाई नै कमजोर बनाउने भन्दै फ्रन्टले सचेत गराएको छ। ‘यी प्रश्नहरूको उत्तर एकअर्कामाथि नभई राज्यसँग खोजिनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘राज्यले अझैसम्म सत्य लुकाएर बसेको छ। यस्तो अवस्थामा एक आन्दोलनकारीमाथि भएको दुर्व्यवहार र आक्रमणले आन्दोलनलाई थप कमजोर बनाउनेछ।’

विज्ञप्तिमा संयोजक रक्षा बमको राजनीतिक अडान र इमानदारीको पनि बचाउ गरिएको छ । बमले भदौ २३ गते बिहान माइतीघरमा आन्दोलनको अनुशासनबारे बोलेको, जङ्गी अड्डामा अनधिकृत प्रवेशको विरोध गरेको र निर्वाचित राष्ट्रपतिसँग मात्र छलफल गर्ने अडान राखेको स्मरण गराइएको छ ।

‘सिङ्गो देश नै परिवर्तनको पक्षमा उभिरहेको र आन्दोलनको बलमा संसद्‌मा पुग्न अत्यन्तै सहज रहेको अवस्थामा पनि रक्षा बमले सडक रोजेकी हुन्,’ फ्रन्टले भनेको छ । छानबिन प्रतिवेदन सार्वजनिक नहुने सम्भावना बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै फ्रन्टले सम्पूर्ण आन्दोलनकारी, घाइते र सहिद परिवार एउटै यात्राका साझेदार भएको बताएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us