नेकपा धुलो टक्टकाएर फेरि उठ्छः वर्षमान पुन

काठमाण्डु टुडे २०८२ चैत ६ गते ११:०० मा प्रकाशित

काठमाण्डू, ६ चैत– नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन अनन्तले निर्वाचनमा अपेक्षित परिणाम प्राप्त हुन नसकेको कारणबाट बिचलित नहुन पार्टी पंक्तिलाई अनुरोध गरेका छन । बिहिबार काभ्रेको अनेकोटमा २८ औं शहीद सांस्कृतिक दिवसका अवसरमा आयोजित शहीदका प्रतीमा अनावरण तथा शहीद परिवार सम्मान कार्यक्रममा पुनले यस्तो बताएका हुन । विचार, राजनीति, संगठन, नेतृत्व, शैली तथा तौरतरिकाबारे पुनस्मूल्यांकन गरी देश र जनताको भावनाअनुसार अघि बढ्ने नेता पुनले बताए ।

जनआकांक्षा र मुलुकको आजको आवश्यकताअनुसार नेकपाले आफूलाई पुनर्गठन गर्ने भन्दै पुनले कुनै दिन फेरि मुलुकको नेतृत्व आफूहरुले गर्ने पनि उनले बताए । आफूहरु रुपान्तरण र सुशासनको एजेण्डा लिएर निर्वाचनमा जाँदा पनि जनताले आफूहरुलाई समेत पुरानै राजनीतिक शक्तिको कोटीमा राखेर मत दिएको स्वीकार गरे ।

‘हामी भदौ २३ गते शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका नवयुवाहरुमाथि गोली चलाउने प्रवृत्तिको पक्षमा थिएनौं, छैनौं र हुने छैनौं । त्यसैगरी २४ गते सिंहदरबार जलाउनेसहित विध्वंश गर्नेको पक्षमा थिएनौं, छैनौं र हुने छैनौं ।

तर, जनताले हामीलाई पनि पुरानै ढर्राको ठान्नुभयो । हामी पुरानो हौं, तर उस्तै खालका पुराना होइनौं । हामीले अवस्था बदल्न कोसिस गरेकै हौं । फेरि जनतामा जान्छौं’, पुनले भने ।

उनले थपे, ‘कुनै अहंकार, विचलन, निराशा होइन, शहीदहरुको बलिदानलाई आत्मसात गर्दै नयाँ ढंगले धुलो टक्टकाएर उठ्ने संकल्प गर्नुपर्छ । १० वर्षे जनयुद्धका बेला पनि धेरैपटक ठूलठूला बलिदान, क्षति र हार भए ।

तर नेतृत्वले हार मानेन । हामीले हार मानेनौं । हाम्रो अहिलेसम्मको विचार, राजनीति, संगठन, नेतृत्व, शैली, तौरतरिकाहरुलाई एकपटक ठण्डा दिमागले पुर्नमूल्याँकन गनुपर्छ र फेरि देश जनताको भावनाअनुसारको बाटोमा हामी अघि बढ्नुपर्नेछ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us