कांग्रेस सभापति थापाले दिए राजीनामा

काठमाण्डु टुडे २०८२ चैत ५ गते ७:३० मा प्रकाशित

काठमाण्डू, ५ चैत– नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो पदबाट राजीनामा दिएका छन । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थापाले बुधबार नै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् ।

यसअघि काठमाण्डू–४ बाट निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही–४ बाट उम्मेदवार थिए । उनलाई रास्वपाका डा. अमरेशकुमार सिंहले पराजित गरे ।

रास्वपाले झन्डै दुई तिहाइ सिट प्राप्त गर्दा दोस्रो भएको कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा २० गरी ३८ सिट मात्रै प्राप्त गरेको छ । चुनावी नतिजापछि राजीनामाको तयारी गरेका थापालाई पार्टीका विभिन्न तहका नेताहरुले राजीनामा नदिन सुझाव र दबाब दिँदै आएका थिए ।

थापा निर्वाचनअघि भएको विशेष महाधिवेशनबाट सर्वसम्मत सभापति निर्वाचित भएका थिए । थापाले दिएको राजीनामाबारे पार्टीको आगामी बैठकले निर्णय लिनेछ । केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बोलाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us