काठमाण्डू, ४ चैत– नयाँ सरकार गठनको गृहकार्य भइरहँदा मन्त्रालय बाँडफाँटबारे छलफल समेत तीव्र छ । गृह, अर्थ, परराष्ट्र लगायतका मन्त्रालयहरु कसले पाउने भन्ने रस्साकस्सीबिच अहिले सम्भावित उम्मेदवारबारे छलफल जारी रहेको स्रोत बताउँछ ।
यसमध्ये एउटा महत्त्वपूर्ण मन्त्रालयको रूपमा रहेको परराष्ट्र मन्त्रीको रोस्टरमा तीन जनाको नाम चढेको छ । शिशिर खनाल, डा.तारा जोशी र कमलदेव सुवेदीलाई अहिले सम्भावित मन्त्रीको सूचीमा राखिएको स्रोतले जानकारी दिएको छ ।
खनाल काठमाण्डू ६ बाट निर्वाचित सांसद हुन् । २०७९ को निर्वाचनमा समेत सोही क्षेत्रबाट निर्वाचित उनी यसअघि छोटो समय शिक्षामन्त्री समेत बनेका थिए । पार्टीको विदेश विभाग र पर्यटन विभागका प्रमुख रहेका खनाल केन्द्रीय सचिवालय सदस्य समेत हुन् ।
पार्टी र संसदमा समेत अनुभव भएकोले परराष्ट्रमन्त्रीमा उनको सम्भावना बढी रहेको स्रोतको दाबी छ । अर्का सम्भावित व्यक्तिको रूपमा डा.तारा जोशीलाई हेरिएको छ ।
डडेलधुराबाट निर्वाचित सांसद जोशीलाई अन्तर्राष्ट्रिय सम्बन्धको विज्ञ मानिन्छ । अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरेका उनी दोस्रो सम्भावित व्यक्तिको रूपमा रहेको स्रोतको भनाइ छ ।
शिशिर खनाल अन्यत्र व्यवस्थापन भएको अवस्थामा उनको सम्भावना देखिन्छ । उता, कमल सुवेदी दाङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हुन् ।
क्यानडा सरकारको पूर्ण छात्रवृत्तिमा सेन्ट फ्रान्सिस जेभियर विश्वविद्यालयमा अध्ययन गरेका उनी सार्वजनिक प्रशासन र नीति निर्माणको क्षेत्रमा एक अन्तर्राष्ट्रिय विज्ञ हुन् ।