बालेन शाह रास्वपाको अभिमुखीकरणमा नजाने

काठमाण्डु टुडे २०८२ चैत ४ गते १४:१२ मा प्रकाशित

काठमाण्डू, ४ चैत– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित सांसदहरूलाई संसदीय अभ्यास र वर्तमान कानुनी अवस्थाबारे जानकारी दिन राखेको दुई दिने अभिमुखीकरण कार्यक्रममा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सहभागी नहुने भएका छन् ।

काठमाण्डूको एक होटलमा मंगलबारबाट सुरु भएको दुई दिने आवासीय अभिमुखीकरण आज बुधबार सकिँदैछ । अभिमुखीकरण कार्यक्रमको समापनमा पार्टी सभापति रवि लामिछाने एकै छिन सहभागी हुने भएपनि वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका बालेन शाह सहभागी नहुने भएका हुन् ।

रास्वपा प्रवक्ता मनिष झाले अभिमुखीकरण कार्यक्रमको दोस्रो दिन सभापति लामिछाने सहभागी हुने भएपनि वरिष्ठ नेता शाह सहभागी नहुने जानकारी गराएका छन ।

उनले वरिष्ठ नेता आगामी सरकारको गृहकार्यमा रहेको र केही दिनमा शारीरिक र मानसिक रूपमा खट्नुपर्ने भएकाले उनी सहभागी नभएकोमा कुनै अर्थ लगाउन जरुरी नभएको पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us