इनिशा विक हत्या प्रकरणः बलात्कारीलाई फाँसीको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाण्डु टुडे २०८२ चैत ३ गते १६:२० मा प्रकाशित

काठमाण्डू, ३ चैत– सुर्खेतकी इनिशा विकको बलात्कारपछि भएको हत्याको विरोधमा दोषीलाई कडा कारबाहीको माग गर्दै काठमाण्डूको माइतीघरमा खबरदारी प्रदर्शन गरिएको छ ।

संयुक्त नागरिक पार्टीको विद्यार्थी तथा महिला विभागले आज माइतीघर मण्डलामा भेला भएर इनिशाको न्यायका लागि दबाब दिँदै प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरूले समाजमा बढ्दै गएको जघन्य अपराध नियन्त्रण गर्न र पीडित परिवारलाई तत्काल न्याय दिलाउन सरकारसँग माग समेत गरेका छन ।

‘प्रदर्शनकारीहरूले ‘इनिशाको हत्यारालाई कारबाही गर’, ‘बलात्कारको अन्त्य गर’, ‘सुरक्षित समाज निर्माण गर’ र ‘बलात्कारीलाई फाँसीको सजाय हुने कानुन बनाऊ’ जस्ता नारा लेखिएका प्लेकार्डहरू बोकेका थिए ।

उनीहरूले पछिल्लो समय महिला र बालबालिकामाथि हुने हिंसाका घटना बढेको भन्दै राज्य मौन बस्न नहुने चेतावनी दिएका छन्। पीडित परिवारले न्याय नपाएसम्म र अपराधीले कानुनी सजाय नपाएसम्म आन्दोलन नरोकिने उनीहरूको भनाइ छ ।

सुर्खेतको वीरेन्द्रनगरस्थित एक सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी विकको पोस्टमार्टम रिपोर्टले डरलाग्दो तथ्य बाहिर ल्याएको छ। रिपोर्टअनुसार उनलाई बलात्कार गरिएको र त्यसपछि भएको अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको देखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us