काठमाण्डू, ३ चैत– राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उपसभापति डा. स्वर्णिम वाग्लेले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा जनताले दिएको अभूतपूर्व जनमतलाई जोगाउनु पार्टीको प्रमुख जिम्मेवारी रहेको बताएका छन ।
आज (मंगलबार) ललितपुरमा आयोजित नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यक्रममा बोल्दै रास्वपा उपसभापति वाग्लेले यस्तो बताएका हुन । उनले जनताले विकास र सुशासनका लागि स्पष्ट म्यान्डेट दिएकाले अब जनअपेक्षाबाट भाग्ने छुट पार्टीलाई नभएको पनि बताएका छन ।
उनले यसपटकको निर्वाचन परिणामलाई नेपालको लोकतान्त्रिक इतिहासकै सबैभन्दा बलियो वैधताका रूपमा व्याख्या समेत गरेका छन । उपसभापति डा. वाग्लेले अहिलेको उपलब्धिलाई २०१५ सालको पहिलो आम निर्वाचनसँग तुलना गर्दै रास्वपाले त्योभन्दा पनि ठुलो जनमत पाएको तथ्याङ्क प्रस्तुत गरे ।
०१५ सालमा बीपी कोइरालाको नेतृत्वमा नेपाली कांग्रेसले दुईतिहाइ सिट जिते पनि लोकप्रिय मत ३८ प्रतिशत मात्रै रहेको पनि उनले बताए । तर, यसपटक रास्वपाले १८२ सिटसहित ५१ लाखभन्दा बढी मत प्राप्त गरी करिब ४८ प्रतिशत लोकप्रिय मत हासिल गरेको भन्दै यसलाई नेपालको इतिहासमा ‘अभूतपूर्व’ जनादेश भएको दाबी समेत गरे ।
जनताको यो ठुलो भरोसालाई न्याय गर्न कार्यान्वयनको पक्षमा जोड दिनुपर्ने पनि उनले बताएका छन । आफ्नो सम्बोधनका क्रममा वाग्लेले विगतका सरकारहरूको अस्थिरता र कमजोरीबाट पाठ सिक्न सांसदहरूलाई आग्रह गरे ।
२०४८ सालमा नेपाली कांग्रेसको बहुमतको सरकार आन्तरिक विवादले ढलेको, २०६४ सालमा माओवादीले ९ महिना पनि सरकार टिकाउन नसकेको र २०७४ सालको नेकपाको बलियो बहुमत पनि तीन वर्षमै छिन्नभिन्न भएको उदाहरण दिँदै उनले विगतका गल्ती नदोहोर्याउन सचेत गराएका छन ।