काठमाण्डू, ३ चैत– डोटीमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका हुन । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको बताइएको छ । बोगटान फुड्सिल गाउँपालिका–३, इनडाबाट कैलालीतर्फ जाँदै गरेको से.१ च १५१७ नं. को बोलेरो जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।
दुर्घटनामा परेर कैलालीको घोडाघोडी नगरपालिका–२ का ४५ वर्षीय योगेस बिनाडी र डोटीको बोगटान फुड्सिल गाउँपालिका–३ कानाचौरका १७ वर्षीय नरेश साउद गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
दुवैको टाउको र ढाडमा चोट लागेको प्रहरीले जानकारी दिएको छ । यस्तै, दुर्घटनामा परि कैलालीको गौरीगंगा नगरपालिका–९ बस्ने चालक २८ वर्षीय सन्तोष सापकोटा र अछामकप ढकारी गाउँपालिका–३ का १५ वर्षीय जनक बुढा घाइते भएका छन् ।
दुवैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । उकालोमा रहेको जिप ब्याक हुन गई सडकबाट करिब ३ सय मिटर खसेको छ ।