नवनिर्वाचित सांसदहरूलाई स्वर्णिमले भनेः वाचापत्र दोहोर्‍याएर पढ्नुहोला

काठमाण्डु टुडे २०८२ चैत ३ गते १४:०६ मा प्रकाशित

काठमाण्डू, ३ चैत– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले नवनिर्वाचित सांसदहरूलाई अब जनताले दिएको ऐतिहासिक मतलाई जिम्मेवारीबोध गर्नेगरी लाग्न अनुरोध गरेका छन ।

आज (मंगलबार)बाट सुरु भएको अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले संसद्मा ध्यान दिनुपर्ने विषयमा पुनः अध्ययन गर्न अनुरोध गरेका छन । साथै, अब थिति बसाल्ने विषयमा पनि गम्भीर भएर सोच्न उनले आग्रह समेत गरेका छन ।

रास्वपा उपसभापति वाग्लेले भने, ‘तपाईंहरू फेरि अध्ययनको चरणमा प्रवेश गर्नुपर्नेछ । अब फेरि ब्याक टू कलेज भनेजस्तै हो । यसमा केही आधारभूत डकुमेन्टको फ्रेमवर्क हुनेछ, ‘पार्टीकै धारणाहरू बारे पनि अध्ययन गर्नुपर्नेछ ।

वाचापत्र दोहोर्‍याएर तेहेर्‍याएर पढ्नुहोला ।’ उनले आफूहरू व्यक्तिगत समस्या समाधान गर्न नआएको बताउँदै प्रणाली नै बदल्ने विषयमा गम्भीर रहन आग्रह गरे । ‘थिति बसाल्ने संकल्प, अब सिस्टम बसालौं, लथालिंग भएको अर्थ राजनीतिलाई अब सम्हाल्नुपर्नेछ ।

अब नेपाली जनताले गर्नसक्ने गरी म्यान्डेट दिएर पठाउनुभएको छ,’ उनले भने, ‘खाली ठूलो पार्टी मात्रै भएर बहुमत नआएको भए यति ठूलो भारी हुँदैन थियो । यसमा सजक हुनुहोला ।’

उनले अब बन्ने नयाँ सरकारका कामहरूलाई याद गर्दै वाचडगको भूमिका निर्वाचन गर्न पनि नवनिर्वाचित सांसदहरूलाई निर्देशन दिए । ‘हामी विधायक सांसदको भूमिकामा छौं । हामीले गर्ने मूल काम के हो ? सहायक काम के हो ? भन्ने बुझ्नुपर्छ ।

हामी कानुन बनाउन आएका हौं,’ वाग्लेले भने, ‘सरकारको कामको अनुगमन गर्ने वाचडग पनि हो । आ–आफ्ना निर्वाचन क्षेत्रका जनताका गुनासालाई बुलन्द ढंगले उठाउनुपर्ने हुन्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us