काठमाण्डू, २ चैत– सामान्यतया पेट्रोल पम्पमा मोटरसाइकल वा गाडी लाइनमा उभिएर तेल हाल्ने गरिन्छ । तर अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा आज (सोमबार) एक युवक आफ्नो मोटरसाइकलको ट्यांकी नै हातमा बोकेर पेट्रोल भर्न आए पछि एकाएक भईरल बने ।
झट्ट हेर्दा नौलो र असामान्य जस्तो लाग्ने यो दृश्यको फोटो सामाजिक सञ्जालमा पुगेपछि भाइरल नै बन्यो । यो घटना सन्धिखर्क–१ शान्ति बगैँचा नजिक रहेको भुसाल पेट्रोल पम्पको हो । त्यहाँ एक युवकले बाइक होइन, बाइकको ट्यांकी मात्र लिएर पेट्रोल हाल्न आएका थिए ।
पम्पका कर्मचारीले त्यही ट्यांकीमा तेल हालिदिए । उपस्थित मानिसहरूका लागि यो दृश्य अनौठो थियो । कसैले जिज्ञासापूर्वक हेरे त, कसैले तस्वीर खिचे ।त्यसै क्रममा पेट्रोल पम्प पुगेका रुद्रमणि भुसालले त्यो क्षण क्यामेरामा कैद गरे ।
उनले फेसबुकमा फोटो राखेपछि केही घण्टामै उक्त तस्वीर सामाजिक सञ्जालमा व्यापक रूपमा फैलियो । कसैले हाँसोको विषय बनाए । कसैले यसलाई हल्ला र अभावको डरले मानिसहरूले देखाएको हतारको उदाहरणका रूपमा टिप्पणी गरे ।
पछिल्ला केही दिनदेखि मध्यपूर्वमा चर्किएको तनावका कारण अर्घाखाँचीमा पनि पेट्रोलियम पदार्थको अभाव हुनसक्ने हल्ला फैलिएको थियो । यही हल्लाका कारण धेरै मानिसले जर्किन, बोतल र विभिन्न भाँडामा तेल भरेर घरमा स्टक राख्न थालेका थिए । एक युवकले बाइक होइन, बाइकको ट्यांकी मात्र लिएर पेट्रोल हाल्न आएका थिए । पम्पका कर्मचारीले त्यही ट्यांकीमा तेल हालिदिए ।
उपस्थित मानिसहरूका लागि यो दृश्य अनौठो थियो । तर यस्तो अवस्था बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले हस्तक्षेप गर्यो । प्रशासनले पेट्रोल पम्पहरूलाई सवारी साधनबाहेक अन्य भाँडामा तेल नदिन निर्देशन जारी गर्यो ।
प्रशासनले घरमा जर्किन वा बोतलमा पेट्रोलियम पदार्थ भण्डारण गरेर राख्दा आगलागीको जोखिम बढ्ने मात्र नभई बजारमा अभाव सिर्जना पनि हुनसक्ने भन्दै त्यस्तो निर्देशन जारी गरेको थियो ।
प्रशासनको यो निर्देशनपछि सन्धिखर्कका पेट्रोल पम्पहरूले अन्य भाँडामा तेल भर्न रोक लगाए । त्यसैले पम्पमा तेल भर्न आएका ती युवाले पनि वैकल्पिक उपाय खोजे– बाइकको ट्यांकी नै निकालेर तेल भर्न जाने । ती युवा को हुन्, कहाँका हुन् भन्ने परिचय खुलिसकेको छैन ।