सरकारलाई दबाब दिन कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी

काठमाण्डु टुडे २०८२ चैत २ गते १२:३८ मा प्रकाशित

काठमाण्डू, २ चैत– गौरी बहादुर कार्की जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न र सरकारले गरेका पछिल्ला राजनीतिक नियुक्तिहरू खारेज गर्न माग गर्दै जेनजी मुभमेन्ट अलायन्सले आन्दोलन सुरु गरेको छ ।

अलायन्सले आज (सोमबार) काठमाण्डूको माइतीघर मण्डलामा मौन विरोध प्रदर्शन गरेको हो । आफ्ना मागहरू पूरा गराउन सरकारलाई दबाब दिने उद्देश्यले अलायन्सले बिहान ११ बजेदेखि आँखामा कालो पट्टी बाँधेर प्रदर्शन गरेको छ ।

अलायन्सले गुपचुप राखिएको गौरी बहादुर कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक हुनुपर्ने अडान राखेको छ । साथै, मन्त्रिपरिषद्को पछिल्लो निर्णयअनुसार प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा गरिएको नियुक्ति तत्काल खारेज हुनुपर्ने माग समेत अघि सारेको छ ।

सरकारको कदमप्रति आपत्ति जनाउँदै अलायन्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारले हामीसँग गरेको सहमतिको बर्खिलाप गर्दै अपारदर्शी र कृपावादी ढङ्गले आफ्ना आसेपासेलाई नियुक्ति दिनु घोर आपत्तिजनक छ ।

राज्यका निकायहरूलाई राजनीतिक भर्ती केन्द्र बनाउने पुरानै प्रवृत्ति दोहोरिनु जनता र जेनजी जनआन्दोलनमाथिको कुठाराघात हो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us