सर्लाहीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाण्डु टुडे २०८२ चैत १ गते १२:२२ मा प्रकाशित

काठमाण्डू, १ चैत– सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरस्थित बागवानीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक पर्साको वीरगञ्ज महानगरपालिका–१ छप्कैया घर भई हाल लालबन्दी–१ नवलपुर बस्दै आएका ३५ वर्षीय सुनिल महतो रहेको प्रहरीले जानकारी दिएको छ ।

शनिबार राति विराटनगरबाट काठमाण्डू जाँदै गरेको लु.प.०३–००१ ख ०४३० नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको प्र.२–०३–०१५ प ३३९६ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो ।

गम्भीर घाइते महतोलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले जानकारी दिएका छन ।

दुर्घटनापछि बससहित चालक दाङको तुल्सीपुर नगरपालिका–९ बस्ने ३४ वर्षीय गणेश बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us